नेपालकी राष्ट्रिय खेलाडी र साउथ एशियन च्याम्पियन पार्वती गुरुङले अष्ट्रेलियन तेक्वान्दो नेशनल च्याम्पियनशीप्समा पुम्सेतर्फ उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छन्। हाल अध्ययनका लागि मेलबर्नमा रहेकी गुरुङले भिक्टोरियाको प्रतिनिधित्व गर्दै ब्रिसबेनमा भएको यो प्रतिष्ठित च्याम्पियनशिपमा सहभागिता जनाएकी थिइन्।
१८ देखि ३० वर्ष उमेर समूहअन्तर्गत प्रतिस्पर्धा गरिएको यस प्रतियोगितामा गुरुङसहित ९ जना प्रतिस्पर्धी थिए। सबैलाई पछि पार्दै उनले स्वर्ण पदक जित्दै आफ्नो खेल कौशलता पुनः प्रमाणित गरिन्। यससँगै गुरुङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलताको शृङ्खला थप बलियो बनेको छ।

ब्रिसबेनको मोर्टन बेमा आयोजित यस प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यका खेलाडीहरू सहभागी भएका थिए। हाल उनी मेलबर्नको एभरेष्ट तेक्वान्दो क्लबमा प्रशिक्षकको रूपमा कार्यरत छिन्, जसले उनलाई अध्ययनसँगै खेललाई निरन्तरता दिन सहयोग पुर्याएको छ।
२९ वर्षीया गुरुङले यसअघि दक्षिण एशियाली तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण तथा कांस्य पदक जितिसकेकी छन्। सन् २०२२ को नोभेम्बरदेखि विद्यार्थी भिसामा अष्ट्रेलिया रहेकी उनले विश्वस्तरको प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गर्दै खेलकुदमा उच्च उपलब्धि हासिल गर्ने लक्ष्य राखेकी छिन्।





