एक हप्तामै पूर्णबहादुरको सारंगीले आठ करोड २५ लाख कमायो

काठमाडौँ । नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले रिलिज भएको एक हप्तामै रु. आठ करोड २५ लाखको आम्दानी गर्न सफल भएको छ । फिल्मका मुख्य पात्र विजय बरालले यो उपलब्धिलाई दर्शकको माया र फिल्मको गहिरो कथासँग जोड्दै सिनेमा हलमा उत्साहजनक प्रतिक्रिया मिलेको बताए।

उपत्यकाभित्र १८० र उपत्यकाबाहिर २०० गरी देशभर ८९ हलमा प्रदर्शन भइरहेको यस फिल्मले तीन सय ८० भन्दा बढी शो पाएको छ, जसले नेपाली फिल्म क्षेत्रमा एकै दिन सर्वाधिक शो पाउने रेकर्ड पनि कायम गरेको छ। निर्माण कम्पनी सेभेन सिसले फिल्मको यो सफलतालाई दर्शकको रुचि र विषयवस्तुको मौलिकता जोडेको बताएको छ।

सरोज पौडेलको लेखन र निर्देशनमा बनेको यस फिल्ममा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी र जान्वी पौडेलको अभिनय रहेको छ। फिल्म गन्धर्व समुदायको संघर्ष र एउटा बुबाले छोराको सफलताका लागि गरेको बलिदानको कथामा आधारित छ।

सेभेन सिस सिनेमा र बासुरी फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्माण विनोद पौडेल र प्याट्रिक सुवेदीले गरेका छन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल छन्।