काठमाडौं – नेपाल संवत्का प्रवर्तक र राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्ने सरकारको योजना रहेको बताएका छन्। मध्यपुरथिमिको शङ्खधर साख्वाः चोकमा आयोजित विशेष कार्यक्रममा शङ्खधरको प्रतिमामा माल्यार्पण गर्दै उनले भाषा, संस्कृति र सभ्यतालाई जोगाउन आफू व्यक्तिगत र प्रधानमन्त्रीको हैसियतमा कटिबद्ध रहेको जनाए।
शङ्खधर साख्वाः प्रतिष्ठानको आयोजनामा भएको यस कार्यक्रममा प्रधानमन्त्रीले नेपाल भाषालाई ऐच्छिक विषयका रूपमा पाठ्यक्रममा समावेश गर्ने माग जायज भएको र मैथिली तथा भोजपुरी भाषाजस्तै यसलाई पनि पाठ्यक्रममा समावेश गर्न सकिने बताए। उनले भने, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा राख्न सकिन्छ। निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन, तर यो असम्भव माग होइन।”
प्रधानमन्त्री ओलीले नेपाल भाषाको संरक्षणका लागि सरकारले विभिन्न प्रयास गरिरहेको उल्लेख गरे। उनले राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत नेपाल भाषामा समाचार प्रकाशन र प्रसारण शुरू भइसकेको जानकारी दिए। भक्तपुरलाई ‘जीवित संग्रहालय’का रूपमा लिइएको चर्चा गर्दै प्रधानमन्त्रीले यहाँको ऐतिहासिक कला र संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जिल्लाको ऐतिहासिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आगामी पुसमा मध्यपुर महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। यस महोत्सवले मध्यपुरथिमिको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास लिइएको छ।
यस अवसरमा प्रधानमन्त्री ओलीले ६३ वर्ष पुरानो संस्था न्ह्यज्याः खलः थिमि र नेपाल संवत्का अभियन्ता एवं भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरलाई ‘शङ्खधर सम्मान’बाट सम्मानित गरे। प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनले धेरै उपलब्धि हासिल गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शङ्खधर साख्वाःले देखाएको देशभक्ति र राष्ट्रियताको भाव आजका युवाहरूका लागि प्रेरणादायी रहेको बताए। कार्यक्रममा संलग्न विभिन्न वक्ताहरूले भाषा र संस्कृति संरक्षणको महत्त्वबारे धारणा राखेका थिए।





