लिग टु – नेपाल र अमेरिका खेल्दै

काठमाडौं – विश्व कप लिग टु अन्तर्गत चलिरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल शनिबार राति हुन गइरहेको छ। खेल नेपाली समय अनुसार बेलुका ९:१५ बजे अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछ। सिरिजमा सहभागी अर्को टोली स्कटल्याण्ड रहेको छ।

नेपाल यस सिरिजमा दोस्रो पटक अमेरिकासँग भिड्न लागेको हो। सिरिजको पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको नेपालले स्कटल्याण्डविरुद्ध खेलेको दोस्रो खेलमा ५ विकेटको शानदार जित हात पारेको थियो। यस सिरिजमा नेपालले अहिलेसम्म मिलेजुले नतिजा प्राप्त गरेको छ।

नेपालको लिग टु यात्रा
नेपालले २०२७ सम्म चल्ने विश्व कप लिग टुमा कुल ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ, जसअन्तर्गत हाल भइरहेको यो नेपालका लागि तेस्रो सिरिज हो। तालिकामा नेपाल १० खेलमा २ जित, ७ हार र १ खेल रद्दसँगै ५ अंकसहित सातौं स्थानमा रहेको छ। अमेरिकाले भने ९ खेलमा ६ जित र ३ हार हात पारेको छ, जसले गर्दा उनीहरू १२ अंकसहित दोस्रो स्थानमा छन्।

नेपाल र अमेरिकाबीचको हेड टु हेड
नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ८ पटक आमनेसामने भएका छन्। जसमा ४ खेलमा नेपालले जित हासिल गरेको छ भने ३ खेलमा पराजित भएको छ। बाँकी १ खेल बराबरीमा टुंगिएको थियो। घरेलु भूमिमा नेपालले अमेरिकाविरुद्ध खेलेका दुई खेलमा शतप्रतिशत जित हासिल गरेको छ। तर, अमेरिकामा भएको खेलमा नेपालले २ खेलमा हार र १ खेल बराबरी गरेको थियो। तथास्त भूमिमा भएको खेलमा नेपालले १ खेलमा हार र २ खेलमा जित हात पारेको थियो।

पछिल्लो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले हराएको थियो, जसमा २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो। यो हारको बदलास्वरुप नेपालले यस खेलमा जित हासिल गर्ने रणनीतिमा रहेको छ।

अन्तिम खेल स्कटल्याण्डसँग
यो सिरिजमा नेपालले आफ्नो अन्तिम खेल कात्तिक १९ गते स्कटल्याण्डसँग खेल्दै सिरिज समाप्त गर्नेछ। स्कटल्याण्डविरुद्धको खेलले नेपाललाई अंक तालिकामा सुधार गर्न महत्त्वपूर्ण अवसर दिनेछ।

नेपालको टोली
नेपालले यस खेलका लागि आफ्नो बलियो टोली मैदानमा उतार्नेछ। टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, र वैकल्पिक खेलाडीहरूमा देव खनाल र सागर ढकाल समावेश छन्।

अमेरिकासँगको महत्वपूर्ण खेलमा नेपालको प्रदर्शन कस्तो रहला भन्ने विषयमा फ्यानहरूको चासो उच्च रहेको छ।