अस्ट्रेलियामा ब्लड क्यान्सर उपचारमा नयाँ चमत्कार

मेलबर्नमा पत्ता लागेको नयाँ रक्त क्यान्सर उपचार अब अस्ट्रेलियाको फार्मास्युटिकल बेनिफिट्स स्किम (PBS) मा समावेश गरिएको छ। यसले उपचारमा पहुँच सजिलो बनाउँदै हजारौं रक्त क्यान्सर बिरामीलाई ठूलो राहत पुर्याउनेछ। यो उपचार इम्ब्रुभिका (Imbruvica) र भेनेटोक्लाक्स (Venetoclax) नामक दुई औषधिको संयोजनमा आधारित छ, जसले क्यान्सर कोशिका समाप्त पारेर किमोथेरापीको आवश्यकता हटाउँछ।

३० वर्षदेखि असाध्य रक्त क्यान्सर सँग जुझिरहेका ६८ वर्षीय प्याट्रिक फोली, यस उपचारबाट लाभान्वित हुने प्रारम्भिक बिरामीका रूपमा चिनिन्छन्। चिकित्सकहरूले उनलाई ६ महिनासम्म मात्र बाँच्न सक्ने अनुमान गरेका थिए, तर अहिले उनको रक्त क्यान्सर नियन्त्रणमा आएको छ, र उनी सामान्य जीवनमा फर्कन सक्षम भएका छन्। यो उपचार पद्धतिमा बिरामीले १५ महिनासम्म दैनिक दुईवटा ट्याब्लेट सेवन गर्नुपर्ने हुन्छ; क्यान्सर नियन्त्रणमा आएपछि औषधि बन्द गर्न सकिने चिकित्सकहरूले बताएका छन्।

स्वास्थ्य मन्त्री मार्क बटलरले यो उपचारलाई “असाधारण” भन्दै यसले हरेक वर्ष ९०० भन्दा बढी रक्त क्यान्सर बिरामीलाई नयाँ आशा दिने बताएका छन्। सरकारले यसको मूल्यलाई अत्यधिक कम गरेर सहुलियत कार्ड भएका बिरामीहरूको लागि केवल $७.७० र अन्य बिरामीहरूको लागि $३१.६० मा उपलब्ध गराउने बताएको छ।