सिड्नीमा न्यू साउथ वेल्स सरकारले भाडामा बस्नेहरुलाई कानुनी अधिकार दिने भएको छ

न्यू साउथ वेल्स सरकारले भाडामा बस्नेहरुलाई राहत दिने कानुनी परिमार्जनहरू पारित गरेको छ, जसबाट सिड्नी लगायत आसपासका सबबहरुमा बस्ने २० लाख भन्दा बढी रेन्टरहरू लाभान्वित हुने सरकारी अपेक्षा रहेको छ। गत बिहीबार राति पारित गरिएको यो नयाँ कानुनले भाडामा बस्ने व्यक्तिहरूको कानुनी सुरक्षा सुनिश्चित गर्न र भाडा वृद्धिमा सीमा लगाउन महत्त्वपूर्ण कदम चालेको छ।

नयाँ नियमअनुसार, घरधनीले अब वर्षमा एक पटक मात्र भाडा बढाउन सक्नेछन्। यसअघि सिड्नी र आसपासका क्षेत्रमा कोठाको अभावका कारण ६ महिनामा भाडा बढाउँदा रेन्टरहरू आर्थिक दबाबमा परेका थिए। यो नियमले रेन्टरहरूको आर्थिक भारलाई केही हदसम्म कम गर्ने विश्वास गरिएको छ।

नयाँ व्यवस्थाले भाडामा बस्ने व्यक्तिहरूलाई किस्ताबन्दी वा विभिन्न भुक्तानी योजनाहरूका माध्यमबाट भाडा तिर्ने सुविधा पनि दिएको छ। साथै, अब भाडामा बस्नुअघि आवश्यक पर्ने ‘बोन्ड’ अनिवार्य रहने छैन, जसले पहिलो पटक भाडामा बस्न चाहनेलाई थप सहजता मिलाउनेछ।

घर पुनर्निर्माण वा बिक्रीको नाममा भाडामा बस्नेहरूलाई तुरुन्तै कोठा खाली गर्न बाध्य पारिने प्रवृत्तिलाई रोक्न राज्य सरकारले उच्चस्तरीय टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले यी परिमार्जनहरूलाई ‘दशक यताकै ऐतिहासिक’ भन्दै रेन्टरहरूको अधिकारलाई थप मजबुत बनाएको बताएका छन्।