के हो रवि लामिछानेमाथि लागेको संगठित अपराध मुद्दा ?

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले ६ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान गरिरहेको छ । सहकारी ठगी सम्बन्धी समाचार यसअघि नै सार्वजनिक भएपनि संगठित अपराधको मुद्दाले धेरैमा कौतुहलता जन्माएको छ ।

कानुनविद्हरूका अनुसार तीन वा सोभन्दा बढी व्यक्तिहरू मिलेर योजना बनाई गरिने अपराधलाई संगठित अपराध मानिन्छ, तर सबै समूहमा गरिने अपराध संगठित हुँदैन । अपराधको क्रममा गरिने क्रियाकलापका आधारमा मात्र संगठित अपराधलाई परिभाषित गर्न सकिन्छ ।

लामिछानेको सन्दर्भमा, सहकारी ठगी मुद्दामा पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा उनी माथि संगठित अपराधको आरोप थपिएको हो । प्रहरी अधिकारीहरूले पूर्वगृहमन्त्रीविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान जारी रहेको बताएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताहरूको रकम योजनाबद्ध रूपमा गोर्खा मिडियामा लगिएको घटनामा धेरै व्यक्तिहरूको संलग्नता देखिएकाले लामिछानेमाथि पनि संगठित अपराधको मुद्दा दर्ता गरिएको हो । यसै मुद्दामा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई यसअघि नै पक्राउ गरेर बयान लिने क्रम जारी छ ।