फूलपातीको अवसर पारेर नेपालमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ५’ अष्ट्रेलियाका ५० भन्दा बढी हलमा पनि एकसाथ प्रदर्शन हुने भएको छ। अष्ट्रेलियामा बक्स अफिस अन्तर्गत रिलिज हुने यो फिल्मले नेपाली दर्शकलाई लक्षित गर्दै विशेष योजना बनाएको छ।
अघिल्ला सिक्वेलहरू हल भाडामा लिएर देखाइएका थिए भने यसपटक नमस्ते इन्टरटेन्मेन्टले बक्स अफिसमा प्रदर्शनको तयारी गरेको हो। नमस्ते इन्टरटेन्मेन्टका देव कार्कीका अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूको सहजता र सुझाबलाई ध्यानमा राख्दै फिल्मलाई ठूलो परिमाणमा रिलिज गर्न लागिएको हो। यसअघि अनमोल केसी अभिनित ‘फर्की फर्की’ पनि नमस्ते इन्टरटेन्मेन्टले बक्स अफिसमा रिलिज गरेको थियो।

फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापनमा रगडेल ब्वायज र ग्रिस इन्टरटेन्मेन्टले सहकार्य गरेका छन्। इभेन्ट सिनेमाज, होयट्स, भिलेज सिनेमाज, रिडिंग सिनेमाज, र स्टेट सिनेमाज जस्ता अष्ट्रेलियाका उत्कृष्ट र सुविधा सम्पन्न हलहरूमा फिल्म देखाइनेछ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पन्जा ५’ मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल र रमेश बुढाथोकी लगायत कलाकारको अभिनय रहेको छ।




