सरकारले हालैका बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिपछि राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस विपद्मा ज्यान गुमाएकाहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिँदै, उद्धार र राहत कार्यका लागि अर्थ मन्त्रालयमार्फत विपद् व्यवस्थापन राहत कोषमा एक अर्ब रुपैयाँ प्रदान गर्ने र सबै मन्त्रीहरूले एक महिनाको तलब दिने निर्णय भएको बताए।

त्यस्तै, घाइतेहरूको नि:शुल्क उपचार, सडक सञ्चालनमा ल्याउन अवरोधहरू हटाउने, हवाई भाडा नियन्त्रण गर्ने, र कालोबजारी हुन नदिन विभिन्न कदम चाल्ने निर्णयहरू भएको पनि उनले जनाए।




