५१% अष्ट्रेलियनहरू अल्कोहल र क्यान्सरको सम्बन्धबारे अनविज्ञ

एक नयाँ अनुसन्धानले अल्कोहल सेवनले क्यान्सरको जोखिम उच्च रहने देखाएको छ । अष्ट्रेलियामा मात्र हरेक वर्ष करिब ३,५०० जनालाई क्यान्सर अल्कोहल सेवनका कारण हुने गरेको छ। दीर्घकालीन अल्कोहल सेवनले टाउको र घाँटीको क्यान्सर, फोक्सो, कलेजो र पेटको क्यान्सरको जोखिम बढाउँछ।

AACR क्यान्सर प्रोग्रेस रिपोर्ट २०२४ को अनुसार करिब ५१ प्रतिशत अष्ट्रेलियनहरू अल्कोहल सेवनले क्यान्सर हुन्छ भन्ने कुरामा अनविज्ञ रहेका छन्। धूम्रपान र मोटोपनपछि, अल्कोहल सेवन क्यान्सरको तेस्रो ठूलो कारण हो। अझै सानो उमेरदेखि नै अल्कोहल सेवन गर्दा भविष्यमा क्यान्सरको जोखिम झन् बढ्ने अध्ययनले देखाएको छ। अल्कोहल सेवनलाई कम गर्दा वा पूर्ण रूपमा बन्द गर्दा अल्कोहलसँग सम्बन्धित क्यान्सरको जोखिम ८ प्रतिशतसम्म कम हुने र क्यान्सरको सम्भावना ४ प्रतिशतले घट्ने गर्दछ।

विशेषज्ञहरूले अल्कोहललाई विषाक्त मानेर यसले शरीरका धेरै अंगहरूमा गम्भीर असर पार्ने बताएका छन्। खासगरी दिमागदेखि सुरु गरेर पाचन प्रणालीसम्म असर पुग्ने गर्दछ। धेरैले अल्कोहल सेवन र क्यान्सरको सम्बन्धबारे थाहा नपाएको तथ्यांकले देखाएको छ।

अष्ट्रेलियाको मापदण्डअनुसार स्वस्थ व्यक्तिले हप्तामा १० भन्दा बढी पेय पदार्थ सेवन गर्नु हुँदैन भने दैनिक चारभन्दा बढी सेवन गर्नु हानिकारक हुन्छ। तर २०२२ को तथ्यांकअनुसार करिब २७ प्रतिशत व्यक्तिले यो मापदण्ड नाघेका छन्।

विशेषज्ञहरूका अनुसार जनचेतना बढाउन मदिराजन्य वस्तुहरूमा चेतावनी दिने खालका स्टिकर राख्नुपर्ने र मदिरा नियन्त्रणका उपायहरूमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।