तास्मानिया, – नेप्लिज फुटबल क्लब तास्मानियाले विजयादशमीको अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो ‘केविए ग्लोबल एनएफसीटी दशैं कप २०२४’ प्रतियोगिता आयोजना गर्न लागेको छ।
यो प्रतियोगिता तस्मानियाको कोर्लियन बे ओभल, न्यु टाउनमा हुने छ, जहाँ कुल ७ टिम दुई समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमले २५०० अष्ट्रेलियन डलर नगद पुरस्कार, ट्रफी, र मेडल प्राप्त गर्नेछन्, भने उपविजेताले १००० अष्ट्रेलियन डलर, ट्रफी, र मेडल पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, र अनुशासित टिमलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिनेछ, जसमा उत्कृष्ट खेलाडीलाई २०० डलरको नगद पुरस्कार विशेष रूपमा दिइनेछ।
दर्शकहरूको लागि पनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना हुनेछ, जसमा बालबालिकाहरूको खेल, महिला पेनाल्टी शूटआउट, र एनएफसीटी सिनियरसँगको कर्पोरेट सोसल टिमको खेल समावेश गरिनेछ।सन् २०१९ मा स्थापित एनएफसीटी क्लबले खेलकुदका गतिविधिहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ।