युएस न्युज कन्ट्री र्याङकिङ’ अनुसार, २०२४ का लागि अष्ट्रेलिया विश्वकै पाँचौं उत्कृष्ट देशको सूचीमा परेको छ। यो र्याङकिङले देशहरुको जीवनस्तर, उद्यमशीलता, सामाजिक उद्देश्य, र सांस्कृतिक प्रभावजस्ता ७३ विशेषतामा आधारित सर्वेक्षणका आधारमा मूल्याङ्कन गरेको हो।
पहिलो स्थानमा स्विट्जरल्याण्ड छ, जसले आफ्नो स्थिरता र उच्च जीवनस्तरका कारण उत्कृष्ट प्रदर्शन गरेको छ। दोस्रो स्थानमा जापान, तेस्रोमा अमेरिका, चौथोमा क्यानाडा, र पाँचौंमा अष्ट्रेलिया परेको छ। अष्ट्रेलियाले ९२.९ स्कोर प्राप्त गरेको छ, जुन २०२३ को तुलनामा एक स्थान तल झरेको हो।

अष्ट्रेलियाले विशेषगरी ‘अजिलिटी’ अर्थात् परिवर्तनसंग अनुकूल हुन सक्ने क्षमता, जीवनको गुणस्तर, र सामाजिक उद्देश्यका मापदण्डमा उच्च स्थान हासिल गरेको छ। यसले रोजगारी बजार, आर्थिक स्थिरता, शिक्षा, र स्वास्थ्य प्रणालीमा राम्रो प्रदर्शन गरेको छ।यो र्याङकिङमा स्विट्जरल्याण्डलगायत शीर्ष १० देशहरुमा स्विडेन, जर्मनी, बेलायत, र न्युजिल्यान्ड पनि परेका छन्।
के के हुन् मूल्यांकनका आधार?
- सामाजिक उद्देश्यहरू: मूल्यांकनको क्रममा मानव अधिकार, पशु अधिकार, वातावरणीय मुद्दाहरू, लैंगिक समानता, धार्मिक स्वतन्त्रता, सम्पत्ति अधिकार, र सामाजिक न्याय जस्ता अवधारणाहरूको महत्त्वलाई पनि ध्यानमा राखिन्छ। यसका साथै, विश्वासयोग्य संस्थाहरूको उपस्थिती, राजनीतिक शक्तिको वितरण, र जातीय समानता जस्ता पक्षहरूलाई पनि परखािन्छ।
- व्यवसायको अनुकूलता: कुनै देशको प्रशासनिक प्रक्रियाको पारदर्शिता, भ्रष्टाचारको स्तर, निर्माण लागतको उपलब्धता, र अनुकूल कर वातावरण जस्ता तत्वहरूको मूल्यांकन गरिन्छ। स्थापित व्यवसायहरूका लागि सरकारी अभ्यासहरूको पारदर्शिता पनि महत्वपूर्ण छ।
- सांस्कृतिक प्रभाव: मूल्यांकनका क्रममा कुनै देशको मनोरञ्जन र संस्कृतिको वैश्विक महत्त्वलाई प्राथमिकता दिइन्छ। साथै, त्यो देशलाई फेसन, आधुनिकता, र प्रतिष्ठासँग सम्बन्धित उपभोक्ता ब्रान्डका रूपमा कसरी हेरिन्छ भन्ने कुरामा पनि ध्यान दिइन्छ।
- पर्यटनको वातावरण: सम्बन्धित देशको पर्यटकीय आकर्षण, मित्रवत वातावरण, र रमाइलो अनुभवको उपलब्धता मूल्यांकनका अर्को पाटो हुन्। यसले देशलाई एक रमणीय गन्तव्यको रूपमा परिभाषित गर्न मद्दत गर्दछ।
- विश्व शक्ति: मूल्यांकन गर्दा कुनै देशको वैश्विक नेतृत्व क्षमता, आर्थिक र राजनीतिक प्रभाव, बलियो सैन्य उपस्थिती, र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्ध पनि महत्त्वपूर्ण मानिन्छ।
- सांस्कृतिक सम्पदा: कुनै देशको सांस्कृतिक पहुँच, समृद्ध इतिहास, र स्थानीय खानाका विशेषताहरूको मूल्यांकन गर्दा यसको भौगोलिक र सांस्कृतिक आकर्षणको भूमिका पनि महत्त्वपूर्ण छ।
उक्त मूल्याङ्कनअनुसार शीर्ष १० वटा देशहरुको सूची यस्तो छ–
१ स्विट्जरल्याण्ड – १०० अंक
२ जापान – ९६.६
३ अमेरिका – ९४.२
४ क्यानाडा – ९४.१
५ अस्ट्रेलिया – ९२.२
६ स्विडेन – ९१.७
७ जर्मनी – ९०.६
८ बेलायत – ८७.९
९ न्युजिल्याण्ड – ८६
१० डेनमार्क – ८५.२