विदेश अध्ययन गर्न चाहने युवाको लर्को, एकै वर्षमा १ लाख १२ हजारले लिए नो अब्जेक्सन लेटर

गत आर्थिक वर्ष २०८०/०८१ मा विदेशमा अध्ययनका लागि १ लाख १२ हजार ५९३ नेपाली विद्यार्थीहरूले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, यो अवधि भित्र ६६ देशका लागि एनओसी जारी गरिएको हो।विद्यार्थीहरूको गन्तव्य देशमा जापान पहिलो स्थानमा छ, जहाँ ३४,७३१ जनाले एनओसी लिएका छन्। त्यसपछि क्यानडा, अस्ट्रेलिया, युनाइटेड किङ्डम (यूके) र अमेरिका रहेका छन्, जसमा क्रमशः १५,९८२, १४,३७२, १३,३३९ र ११,२६१ जनाले अनुमति पत्र प्राप्त गरेका छन्।

रिपब्लिक अफ कोरिया, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, भारत, न्युजिल्यान्ड, र युएईका लागि पनि महत्वपूर्ण संख्यामा एनओसी जारी गरिएको छ। विशेष गरी, जापान जान चाहने विद्यार्थीहरूको संख्या ३३,६९७ छ, जसमा प्रमुख रूपमा भाषा अध्ययन गर्नका लागि अनुमति प्राप्त गरिएको हो।अध्ययनका विषयमा, व्यवस्थापन र व्यवसायसम्बन्धी अध्ययनका लागि क्रमशः २८,८९१ र १०,०२९ जनाले एनओसी लिएका छन्। अन्य लोकप्रिय विषयहरूमा कम्प्युटर साइन्स, सूचना प्रविधि, स्वास्थ्य, र विज्ञान तथा प्रविधि समावेश छन्, जसका लागि हजारौं विद्यार्थीहरूले अनुमति प्राप्त गरेका छन्।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, विदेशमा अध्ययन गर्नका लागि गत आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म १ खर्ब ११ अर्ब ४६ करोड रुपैयाँ बाहिर गएको छ।पछिल्ला आर्थिक वर्षहरूमा एनओसी लिने विद्यार्थीयहरूको संख्या पनि वृद्धि भइरहेको छ, जसले नेपाली विद्यार्थीहरूको विदेश अध्ययनमा बृद्धि र लगानीको वृद्धि जनाउँछ।