पाकिस्तानी नागरिकलाई डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ

वासिङ्टन । इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य राजनीतिज्ञको हत्या गर्ने योजना बनाएको आरोप लागेको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले यो षड्यन्त्र इरानसँग जोडिएको बताएका छन् । आरोपित ४६ वर्षीय आसिफ मर्चेन्टले अमेरिकी चर्चित राजनीतिज्ञको हत्या गर्न न्यूयोर्कमा हिटम्यानलाई काममा लगाउन खोजेको आरोप छ । रिपब्लिकन उम्मेद्वार विरुद्धको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लगाएपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए।

मंगलबार एफबीआई निर्देशकले कुनै पनि राजनीतिज्ञ वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने बताए। आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको छ ।

स्रोत :रातो पाटि