काठमाडौँ : हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको रिपोर्टमा यस विषयमा जानकारी दिइएको छ ।
चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक तथा शोधका सह लेखक यानहाओ लिनका अनुसार बुध ग्रहको अत्यधिक उच्च कार्वन सामग्रीले यो ग्रहको सतहमुनि केही खास रहेको रहस्य बताउँछ । उनका अनुसार बुध ग्रहमा एक चुम्बकीय क्षेत्र छ, यद्यपि यो पृथ्वीको तुलनामा निकै कमजोर छ ।वैज्ञानिकहरुका अनुसार ग्रहहरूको निर्माण सम्भवतः निकै तातो लाभाको महासागर चिसिएर बनेको हो । यही प्रकारले अन्य स्थलीय ग्रहहरूको विकास भयो । बुध ग्रह सिलिकेट र कार्बनले भरिएको हुनसक्ने अनुमान वैज्ञानिकहरुको छ ।यद्यपि बुध ग्रहको भित्री भागमा हिरा भएपनि त्यसको उत्खनन भने सम्भव छैन । बुध ग्रहमा अत्यधिक उच्च तापमानका अलावा उक्त सम्भावित हिरा सतहभन्दा ४८५ किमी तल रहेको छ । जसलाई निकाल्न असम्भव छ ।