स्वीजरल्यान्डले इच्छामृत्यु चाहने व्यक्तिका लागि ‘सुसाइड पड’ प्रयोगमा ल्याउने

स्वीजरल्यान्डले इच्छामृत्यु चाहने व्यक्तिका लागि छिट्टै ‘सुसाइड पड’ प्रयोगमा ल्याउने भएको छ । ‘स्याक्रो’ (Sacro) नामको थ्रीडी प्रिन्टेड पोर्टेबल सुसाइड पड अबको केही महिनामै प्रयोगमा ल्याइने भएको हो ।

‘गम्भीर शारीरिक रोग’ भएका व्यक्तिहरूलाई इच्छामृत्यु सेवा दिने उद्देश्यले स्थापना भएको द लास्ट रिसोर्टका संस्थापक फ्लोरियन विलेटले यो डिभाइस छिट्टै प्रयोगमा आउने बताएका छन् । हालै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्वमै पहिलो पटक यो डिभाइस प्रयोग गर्न लागेको जानकारी दिए ।यदि कसैले इच्छामृत्यु चाह्यो भने १८ स्वीस फ्रान्क (करिब दुई हजार ६६० रुपैयाँ) पर्ने बताइएको छ ।

यसो त यो डिभाइस सन् २०१९ मै सार्वजनिक भएको थियो । तर, चिकित्सा पर्यवेक्षण बिनै मान्छे आफूले चाहेर मर्न पाउनु हुँदैन भन्दै यसको चर्को विरोध भएको थियो ।यस पडको च्याम्बरमा नाइट्रोजन ग्यास भरिएको हुन्छ । इच्छामृत्यु चाहने व्यक्तिलाई यसभित्र राखेर बटन थिचिसकेपछि विस्तारै अक्सिजनको मात्रा घट्दै जान्छ र मान्छे चेतको घट्दै जान्छ , त्यसको १० मिनेटभित्र मान्छे मरिसक्छ ।

सन् १९४० कै दशकदेखि स्वीजरल्यान्डले ‘असिस्टेड सुसाइड’ (कसैलाई आत्महत्या गर्न सघाउने काम) लाई कानूनी मान्यता दिएको थियो । त्यसको परिणाम स्वीजरल्यान्ड ‘डेथ टुरिजम’ (मृत्यु पर्यटन) गन्तव्यका लागि परिचित बन्यो । रोर्यटर्सका अनुसार ‘असिस्टेड डेथ’को फाइदा लिन मानिसहरू स्वीजरल्यान्ड जान थालेका थिए ।सुसाइड पडले मान्छेलाई पीडा नहुने गरी आनन्दले मर्न सघाउने बताइएको छ ।

अष्ट्रेलियाली फिजिसियन डा. फिलिप नित्स्केले १२ वर्ष लगाएर यो डिभाइस नेदरल्यान्डमा विकास गरेका हुन् । यसका लागि करिब सात लाख १० हजार डलर खर्च भएको बताइएको छ ।

सुसाइड पडले कसरी काम गर्छ ?

यसमा सबैभन्दा पहिले मान्छेलाई आरामले पल्टाइन्छ । त्यसपछि त्यहाँ क्रमशः अक्सिजनको स्तर घट्दै जान्छ । र, मान्छे विस्तारै अचेत अवस्थामा पुग्छ ।

मान्छेलाई इच्छामृत्यु दिनका लागि त्यहाँ अक्सिजन तह, हृदयको गति, ब्लड अक्सिजन स्याचुरेसन आदि निगरानी गरिएको हुन्छ । एक पटक डिभाइसलाई एक्टिभेट गरियो भने मान्छेलाई चाहेर पनि बचाउन सकिंदैन ।