काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज (शुक्रवार) संसदबाट विश्वासको मत लिँदै छन् ।
प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सहितका दलले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।१८ महिनामा प्रचण्डले पाँचौंपटक विश्वासको मत लिनु पर्ने भएको हो । नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस, एमाले जनता समाजवादी पार्टी नेपाल, राप्रपा, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । कांग्रेस र एमालेले भने आजै नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसक्ने निश्चित रहेकाले शुक्रवारको संसद् बैठकलगत्तै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गर्ने तयारी दुई दलले गरेका हुन् ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँग ८० प्रतिशत सांसद रहेको भन्दै आजै प्रधानमन्त्रीमा दाबेदारी गर्ने जानकारी दिए ।
प्रधानमन्त्रीले विश्वासको मत नपाउने भएकोले लामो समय देशलाई सरकार विहीनताको अवस्थामा राख्न नहुने भन्दै लेखकले आजै राष्ट्रपतिसमक्ष सांसदको हस्ताक्षर बुझाउने जानकारी दिए ।दुई दलको सहमति संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।तर माओवादीले भने संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ । दुई दलबीचको सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् ।
त्यसपछिको डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
