अस्ट्रेलियामा सन् २०२६ को कर बुझाउने सिजन (Tax Return Season) सुरु भएसँगै Australian Taxation Office (ATO) ले करदाताहरूलाई हतार गरेर कर विवरण (Lodge) नगर्न कडा चेतावनी दिएको छ। गत वर्ष लाखौँ करदाताले हतारमा अपूर्ण विवरण बुझाउँदा र नियम नबुझ्दा कर कार्यालयले व्यापक रूपमा विवरण संशोधन गर्नुपेरको नयाँ तथ्याङ्कले देखाएको छ। अहिले साइड हसल, क्रिप्टो, घरबाटै गरिने काम र गिग वर्क सामान्य भइसकेकाले कर विवरणमा गल्ती हुने जोखिम पहिलेभन्दा निकै उच्च छ।
विवरण संशोधनको मुख्य कारण र Early Lodgment को धराप
ATO को Data Matching Program ले आर्थिक वर्ष २०२४–२५ मा मात्रै ५ लाख ९५ हजारभन्दा बढी व्यक्तिगत कर विवरणहरू संशोधन गरेको थियो, जसमा मुख्यतया आम्दानी लुकाएको र बढी खर्च दाबी गरेको भेटिएको थियो। यसबाहेक अन्य १ लाख ४० हजारभन्दा बढी रिटर्नहरूमा रोजगारीको आम्दानी, बैंक ब्याज, लाभांश र स्वास्थ्य बिमाका त्रुटिहरू सच्याइएको थियो। ATO को प्रिफिल (Pre-fill) प्रणालीमा आधिकारिक विवरणहरू आउनु अगावै जुलाईको सुरुमै हतारिएर कर बुझाउनेहरूका विवरणमा गल्ती हुने सम्भावना दुई गुणा बढी देखिएको छ। जुलाईको सुरुवाती दिनहरूमा रोजगारदाता र बैंकहरूले पूर्ण विवरण नपठाउने भएकाले ATO ले सबै करदातालाई प्रिफिल डाटा तयार हुने जुलाईको अन्तिम सातासम्म पर्खन विशेष आग्रह गरेको छ।
सचेत रहनुपर्ने विषय र उच्च जोखिममा रहेका करदाता
करदाताहरूले प्रायः प्रिफिल तयार नहुँदै विवरण बुझाउने, उचित प्रमाण बिना घरबाट काम गरेको खर्च दाबी गर्ने, तथा अनलाइन बिकी वा फ्रिलान्सिङ जस्ता साइड हसलको आम्दानी लुकाउने गर्दा सजिलै ATO को फन्दामा पर्ने गरेका छन्। अहिले क्रिप्टो एक्सचेन्ज र डिजिटल प्लेटफर्महरूले सिधै कर कार्यालयलाई विवरण बुझाउने हुनाले लुकाइएको आम्दानी तुरुन्तै समातिन्छ। विशेषगरी आप्रवासी कामदार, अन्तर्राष्ट्रिय विद्यार्थी, नर्स, ट्रेडी, उबर तथा डेलिभरी ड्राइभर, साना व्यवसायी र घरजग्गा लगानीकर्ताहरू यस वर्ष ATO को विशेष निगरानीमा छन्। सामाजिक सञ्जाल वा AI टुलका जेनेरिक सल्लाहका भरमा कर दाबी गर्दा अडिटमा परिने जोखिम हुने भएकाले करदाताले आफ्ना हरेक खर्चका बिल, बैंक स्टेटमेन्ट र लगबुक सुरक्षित राख्न जरुरी छ।




