सिड्नीमा ग्यासको अन्त्य, विद्युतीय युगको सुरुवात: २०२६ देखि नयाँ घरहरू पूर्ण रूपमा इलेक्ट्रिक हुने

अस्ट्रेलियाको सबैभन्दा घना आवासीय क्षेत्रमध्ये एक मानिने सिड्नीमा अब ग्यासबाट विद्युतीय प्रणालीतर्फ ठूलाे नीतिगत परिवर्तन लागू हुने भएको छ। City of Sydney ले नयाँ आवासीय तथा व्यावसायिक विकासका लागि ग्यास प्रयोगलाई क्रमशः हटाउँदै पूर्ण विद्युतीय मापदण्ड लागू गर्ने निर्णय गरेको हो।

सिटी अफ सिड्नी काउन्सिलको निर्णयअनुसार १ जनवरी २०२६ देखि सिड्नी स्थानीय सरकारी क्षेत्र (LGA) भित्र निर्माण हुने नयाँ आवासीय भवनहरूमा ग्यास जडान निषेध गरिनेछ। अब यस्ता भवनहरूमा इलेक्ट्रिक कुकटप, ओभन तथा इनडोर हीटिङ–कूलिङ प्रणाली अनिवार्य रूपमा जडान गर्नुपर्नेछ। यस निर्णयले सिड्नी क्षेत्रमा बसोबास गर्ने करिब २ लाख ३७ हजार बासिन्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ।

यो नीति कार्यान्वयनलाई ग्यास प्रयोग घटाउँदै कार्बन उत्सर्जन न्युनिकरण र दिगो ऊर्जा प्रणाली प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। काउन्सिलका अनुसार प्रारम्भिक चरणमा आवासीय विकासमा केन्द्रित यो नीति आगामी वर्ष अझ कडा रूपमा लागू हुनेछ।

काउन्सिलले सार्वजनिक गरेको योजनाअनुसार १ जनवरी २०२७ देखि नयाँ निर्माण हुने घर तथा व्यावसायिक भवनहरूमा बाहिरी ग्यास उपकरणहरू समेत प्रतिबन्धित गरिनेछ। यसमा ग्यास हीटर, ग्यास बार्बेक्यू लगायतका सबै प्रकारका बाहिरी ग्यास फिटिङहरू समावेश छन्। सो मितिपछि सिड्नीमा निर्माण हुने सबै नयाँ संरचनाहरू पूर्ण रूपमा विद्युतीय प्रणालीमा आधारित हुनुपर्नेछ।

यो निर्णय अस्ट्रेलियाका अन्य राज्य तथा क्षेत्रमा पहिल्यै लागू भइसकेका नीतिसँग मेल खाने बताइएको छ। विशेष गरी भिक्टोरिया र ACT मा अधिकांश नयाँ विकास परियोजनाहरूमा ग्यास जडान गर्न नपाइने व्यवस्था कार्यान्वयनमा छ। सिड्नीको पछिल्लो कदमले देशव्यापी रूपमा ऊर्जा संक्रमणको दिशामा एकरूपता ल्याउने अपेक्षा गरिएको छ।

सिड्नी काउन्सिलले करिब दुई वर्षअघि नै ग्यास प्रतिबन्धको पक्षमा औपचारिक समर्थन जनाउँदै सम्भावित प्रभाव, वैकल्पिक ऊर्जा प्रणाली र दीर्घकालीन फाइदाबारे अध्ययन सुरु गरेको थियो। त्यसैको निरन्तरतास्वरूप अहिले यो नीति व्यवहारमा उतारिन लागेको हो।

ऊर्जा विज्ञहरूका अनुसार दीर्घकालमा विद्युतीय प्रणालीले ऊर्जा दक्षता बढाउने, उपभोक्ताको लागत घटाउने र वातावरणीय प्रभाव न्युनिकरण गर्ने अपेक्षा गरिएको छ। यद्यपि प्रारम्भिक चरणमा निर्माण लागत र पूर्वाधार समायोजन चुनौतीपूर्ण हुन सक्ने भन्दै काउन्सिलले विकासकर्तासँग सहकार्य गर्दै संक्रमणलाई सहज बनाउने जनाएको छ।

यस निर्णयसँगै सिड्नीले आफूलाई स्वच्छ ऊर्जा, दिगो सहरी विकास र भविष्य–केन्द्रित शहरका रूपमा स्थापित गर्ने दिशामा थप एक महत्वपूर्ण कदम चालेको विश्लेषण गरिएको छ।

Advertisement