New Year’s Eve मा हुने Sydney को विश्वप्रसिद्ध आतिशबाजी उत्सवलाई लक्षित गर्दै यसपटक अभूतपूर्व सुरक्षा व्यवस्था अपनाइने भएको छ। NSW का प्रिमियर Chris Minns ले प्रहरी उच्च सतर्कतामा रहने र सामान्य अवस्थाभन्दा धेरै शक्तिशाली हतियारसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिएका छन्।
Bondi Beach मा हालै भएको आतङ्ककारी आक्रमणपछि समुदायमा त्रास फैलिएको अवस्थामा प्रिमियर Minns ले सिड्नीवासीलाई डरले घरमै सीमित नबस्न आग्रह गरेका छन्। “आतंक फैलाउनेहरूको उद्देश्य समुदायलाई विभाजन गर्नु हो। हामीले बाहिर निस्केर, परिवार र साथीहरूसँग समय बिताएर उनीहरूलाई चुनौती दिनुपर्छ,” Minns ले भने।
उनले स्पष्ट पारे अनुसार नयाँ वर्षको रात NSW प्रहरीले असाधारण सुरक्षा योजना लागू गर्नेछ। “कतिपय अवस्थामा प्रहरीले अहिलेसम्म नदेखिएका हतियार र longarms बोकेर गस्ती गर्नेछन्,” Minns ले बताए। NSW प्रहरीका लागि यस्तो हतियार प्रयोग असामान्य मानिन्छ। उनले सुरक्षा उपाय केही मानिसका लागि असहज हुन सक्ने स्वीकार गरे पनि नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो जिम्मेवारी भएको उल्लेख गरे।
यससँगै राज्य सरकारले आवश्यक परे सैन्य सहयोग समेत परिचालन गर्न सक्ने विषयमा छलफल भइरहेको खुलासा गरेको छ। यद्यपि, यसबारे अन्तिम निर्णय भने भइनसकेको जनाइएको छ।
Bondi क्षेत्र पुनर्जीवनमा सरकारको जोड
नयाँ वर्षको कार्यक्रमभन्दा बाहिर पनि सरकारको ध्यान Bondi क्षेत्रमा केन्द्रित देखिएको छ। Minns ले Waverley Council का मेयर Will Nemesh र रोजगार मन्त्री Steve Kamper सँगै Bondi फर्केर स्थानीय व्यवसायलाई सहयोग गर्न नागरिकलाई आह्वान गरेका छन्।
मेयर Nemesh का अनुसार आक्रमणको दिन स्थानीय व्यवसायहरू नै मानिसका लागि सुरक्षित आश्रयस्थल बनेका थिए। “त्यतिबेला हाम्रो समुदायले एकअर्कालाई जोगायो, अब ती व्यवसायलाई जोगाउने पालो हाम्रो हो,” उनले भने।
आक्रमणपछिका दुई सातामा Bondi क्षेत्रका व्यवसायमा ग्राहक आवागमन घटेको, बुकिङ रद्द भएको र आर्थिक दबाब बढेको व्यवसायीहरूले बताएका छन्। यसलाई मध्यनजर गर्दै सरकारले आक्रमण स्थलदेखि दुई ब्लक भित्रका व्यवसायलाई २५ हजार डलरसम्मको सहयोग प्याकेज उपलब्ध गराउने निर्णय गरेको छ।
घृणा प्रवचनविरुद्ध कडा कानुनको तयारी
यसैबीच NSW सरकारले घृणा फैलाउने गतिविधिविरुद्ध थप कडा कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ। नयाँ कानुनअनुसार यदि कुनै प्रार्थनास्थल वा सामुदायिक भवनले “hate preachers” लाई मञ्च उपलब्ध गराएको पाइएमा ती स्थल बन्द गर्न सकिनेछ। आवश्यक परे पानी र बिजुली सेवा समेत काट्ने अधिकार सरकारसँग रहने Minns ले बताएका छन्।
उनले यो व्यवस्था कुनै विशेष धार्मिक समुदाय लक्षित नभई सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पारे। “NSW का घृणासम्बन्धी कानुन सबैका लागि हो। जो–कोहीले घृणा फैलाएमा उनीहरू कडा सजायको दायरामा पर्छन्,” Minns ले भने। उनले घृणात्मक गतिविधिमा कुनै समयसीमा नलाग्ने संकेत पनि गरेका छन्।
एकता र प्रतिरोधको सन्देश
सरकारका अनुसार कडा सुरक्षा, कानुनी सुधार र समुदायको सक्रिय सहभागितामार्फत सिड्नीले आतंकको सामना डरले होइन, एकता र साहसले गर्ने सन्देश दिन खोजेको हो। नयाँ वर्षको उत्सव केवल मनोरञ्जन नभई समुदायको दृढता र सहअस्तित्वको प्रतीकका रूपमा अघि बढाइने बताइएको छ।





