
अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेका नेपाली विद्यार्थी तथा आप्रवासी कामदारलाई लक्षित गर्दै २२ जनवरी २०२६ मा विशेष जानकारीमूलक सत्र आयोजना हुने भएको छ। अस्ट्रेलियामा पछिल्लो समय लागू भएका कडा कार्यस्थल कानुन, पारिश्रमिक व्यवस्था र ४९१ (Regional) भिसा सम्बन्धी व्यावहारिक जटिलताबारे स्पष्ट जानकारी दिन यो कार्यक्रम केन्द्रित हुनेछ।
यो सत्र Migrant Workers Service ले आयोजना गरेको हो। कार्यक्रममा सहभागीलाई रोजगारी, तलब, भिसा सुरक्षा र कानुनी अधिकारका विषयमा अनुभवी कानुनी विशेषज्ञहरूले प्रत्यक्ष रूपमा जानकारी तथा परामर्श दिनेछन्।
किङ्गस्टनमा साँझ ६ देखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा १ जुलाई २०२५ देखि लागू भएको नयाँ न्यूनतम पारिश्रमिक दर, सुपर एनुएसन (Superannuation) सम्बन्धी अद्यावधिक नियम, साथै १ जनवरी २०२५ देखि कार्यान्वयनमा आएको ‘वेज थेफ्ट’ अर्थात् तलब चोरीसम्बन्धी फौजदारी कानुनबारे विस्तृत रूपमा जानकारी दिइनेछ। नयाँ कानुनअनुसार कामदारको तलब नदिने वा कम दिने रोजगारदातालाई फौजदारी अपराधी मानिने व्यवस्था लागू भइसकेको छ, जसअन्तर्गत पीडित कामदारले कसरी कानुनी उपचार पाउन सक्छन् भन्ने विषय पनि स्पष्ट गरिनेछ।
कार्यक्रममा ४९१ भिसामा रहेका आप्रवासी कामदारका लागि विशेष सत्र रहनेछ। यसअन्तर्गत क्षेत्रीय क्षेत्रमा आवश्यक तीन वर्षको बसाइ सुरक्षित रूपमा कसरी पूरा गर्ने, रोजगारदाताबाट आउने अनुचित दबाब वा शोषणबाट कसरी जोगिने, र दीर्घकालीन रूपमा पीआर (Permanent Residency) तर्फ अघि बढ्ने कानुनी बाटोबारे व्यवहारिक परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।
यसका साथै, भाषा, भिसा स्थिति वा जातीयताका आधारमा कार्यस्थलमा हुने भेदभावविरुद्ध कामदारसँग के–कस्ता कानुनी अधिकार छन् भन्ने विषयमा पनि जानकारी दिइनेछ। धेरै आप्रवासी कामदारहरू शोषण सहँदै पनि भिसा रद्द हुने डरले आवाज उठाउन नसक्ने अवस्थालाई ध्यानमा राख्दै, कार्यक्रममा अस्ट्रेलियाको ‘एश्योरेन्स प्रोटोकल’ सम्बन्धी जानकारी विशेष रूपमा समेटिनेछ। आयोजकका अनुसार, शोषण वा अन्यायविरुद्ध उजुरी गर्दा कामदारको भिसा सुरक्षित रहने कानुनी सुनिश्चितता यस प्रोटोकलले प्रदान गर्छ।
आयोजकले यो सत्र केवल जानकारी दिनमै सीमित नरही सहभागीलाई उपलब्ध निःशुल्क कानुनी सेवा, परामर्श तथा सहयोग संयन्त्रहरूसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले आयोजना गरिएको जनाएको छ। यसले नेपाली आप्रवासी कामदारमा आत्मविश्वास बढाउन र आफ्ना अधिकार प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम विवरण
- मिति: २२ जनवरी २०२६ (बिहिबार)
- समय: बेलुका ६:०० देखि ८:०० सम्म
- स्थान: ७१ लीचहार्ट स्ट्रिट, किङ्गस्टन, एसीटी
- दर्ता: unionsact.org.au/migrant-workers
वा उपलब्ध क्युआर कोडमार्फत
आयोजकले ‘काम सकिएपछि फोन नउठाउने अधिकार (Right to Disconnect)’ र ‘पूरा तलब पाउने कानुनी हक’ जस्ता नयाँ व्यवस्थाबारे बुझ्न तथा भिसासम्बन्धी कुनै पनि जिज्ञासा वा समस्या भए विशेषज्ञसँग सिधै छलफल गर्न यो निःशुल्क अवसर अधिकतम उपयोग गर्न सबै नेपाली विद्यार्थी र आप्रवासी कामदारलाई आग्रह गरेका छन्।नयाँ कानुनी हकबारे बुझ्न तथा भिसासम्बन्धी जिज्ञासामा विशेषज्ञसँग सिधै परामर्श लिन यो निःशुल्क अवसर उपयोग गर्न आग्रह गरेका छन्।




