भिक्टोरियामा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूले अब जनवरी १ देखि थप भाडा तिर्नुपर्ने भएको छ। राज्य सरकारले नयाँ वर्षसँगै लागू गरेको भाडा वृद्धिअनुसार Myki प्रयोग गर्ने यात्रुहरूलाई दैनिक ४० सेन्टसम्म बढी शुल्क लाग्नेछ, जसका कारण हप्तामा पाँच दिन यात्रा गर्ने औसत यात्रुका लागि वार्षिक करिब १०४ डलरसम्म अतिरिक्त खर्च थपिने देखिएको छ।
नयाँ भाडा संरचनाअनुसार फुल फेयर दैनिक Myki क्याप ११ डलरबाट बढाएर ११.४० डलर पुर्याइएको छ। त्यस्तै, concession यात्रुका लागि दैनिक क्याप अब ५.७० डलर कायम गरिएको छ।
एकतर्फी यात्राको भाडा पनि बढेर फुल फेयरका लागि ५.७० डलर र concession का लागि ३.६० डलर पुगेको छ।
सप्ताहन्तमा यात्रा गर्ने यात्रुहरू पनि यो वृद्धिबाट अछुतो रहने छैनन्। शनिबार र आइतबार अब फुल फेयर दैनिक भाडा ८ डलर र concession भाडा ४ डलर तोकिएको छ। यसले परिवारसहित यात्रा गर्ने वा सप्ताहन्तमा काम गर्ने यात्रुहरूमा थप आर्थिक दबाब सिर्जना गर्ने देखिन्छ।
Public Transport Victoria (PTV) ले भाडा वृद्धि शुक्रबार सार्वजनिक गर्दै, यस निर्णयले रेल, ट्राम र बस नेटवर्कको सञ्चालन, मर्मतसम्भार र सेवा निरन्तरतामा सहयोग पुर्याउने जनाएको छ।
PTV का अनुसार भाडा हरेक वर्ष समीक्षा गरिन्छ र आवश्यक परे राज्यभर समान रूपमा लागू गरिन्छ, ताकि भाडामा असमानता नहोस्।
भिक्टोरियामा सार्वजनिक यातायात भाडा पछिल्ला वर्षहरूमा क्रमिक रूपमा बढ्दै आएको छ। सन् २०२३ मा दैनिक भाडा क्याप पहिलोपटक १० डलर नाघेको थियो, जब ८० सेन्टको वृद्धि गरिएको थियो। त्यसयता पनि भाडा सानो–सानो अन्तरालमा बढाइँदै आएको देखिन्छ।
यद्यपि, भाडा वृद्धिसँगै सरकारले यात्रुहरूलाई लक्षित गर्दै अस्थायी राहत योजना पनि घोषणा गरेको छ। Melbourne Metro Tunnel को उद्घाटनको अवसरमा, भिक्टोरियाभरि सार्वजनिक यातायात गर्मी याममा दुई महिनासम्म सप्ताहन्तमा निःशुल्क हुनेछ। यो सुविधा फेब्रुअरी १ सम्म लागू रहनेछ।
यस अवधिमा हरेक शनिबार र आइतबार बिहान पहिलो सेवाबाट राति अन्तिम सेवासम्म यातायात गेट खुला रहनेछन् र यात्रुहरूले Myki ट्याप गर्नुपर्ने छैन।
सरकारको यो निःशुल्क सप्ताहन्त योजनाले छोटो अवधिमा यात्रुहरूलाई केही राहत दिए पनि, दीर्घकालीन रूपमा हेर्दा भाडा वृद्धिले बढ्दो जीवनयापन खर्चसँग जुधिरहेका भिक्टोरियालीहरूमा थप आर्थिक दबाब सिर्जना गर्ने देखिन्छ। विशेष गरी दैनिक कार्यालय जाने, विद्यार्थी र कम आय भएका समुदायका लागि यो वृद्धि चुनौतीपूर्ण बन्न सक्ने छ ।





