अष्ट्रेलियाको Bureau of Meteorology (BOM) ले आफ्नो नयाँ वेबसाइट निर्माणमा ९६.५ मिलियन डलर खर्च भएको पुष्टि गरेपछि परियोजनाको व्यापक आलोचना भएको छ । प्रारम्भिक चरणमा ४.१ मिलियन डलर खर्चिएको दाबी गरेको संस्थाले वास्तविक रकम सार्वजनिक गरेपछि खर्च व्यवस्थापन र निर्णय प्रक्रियाबारे गम्भीर प्रश्न उठेका छन्।
संस्थाले ABC मार्फत सार्वजनिक गरेको विवरणअनुसार डिजाइनमा ४.१ मिलियन, साइट निर्माणमा ७९.८ मिलियन, र सुरक्षासम्बन्धी परीक्षण तथा सार्वजनिक लन्चमा १२.६ मिलियन डलर खर्च गरेको छ। BOM ले वेबसाइटलाई आधुनिक सुरक्षा मापदण्ड, प्रयोगकर्ता पहुँच, र उपयोग-अनुकूलता पूरा गर्न पूर्ण पुनर्निर्माण आवश्यक भएको तर्क गरेको छ।
तर नयाँ साइट सार्वजनिक भएको एक महिनाभित्रै प्रयोगकर्ताबाट व्यापक असन्तुष्टि देखा पर्यो। site navigation गाह्रो हुनु, जानकारी खोज्न जटिलता र विशेष गरी रेडार म्यापमा स्थान तथा वर्षा विवरण पहिचान गर्न कठिनाइ(difficulty identifying locations and rainfall details on the radar map) प्रमुख गुनासो बनेका छन्। किसान समुदायले स्थानीय मौसम, नदीको सतह र वर्षा सूचनामा सहज पहुँच नहुँदा साइटले आफ्नो मूल उद्देश्य नै पूरा गर्न नसकेको टिप्पणी गरेका छन् ।
तीव्र आलोचनापछि संघीय सरकारले हस्तक्षेप गर्दै BOM लाई तत्काल सुधारका निर्देशन दियो। त्यसपछि संस्था पुरानै शैलीको रेडार म्याप पुनःस्थापित गर्न बाध्य भयो। BOM ले सार्वजनिक प्रतिक्रिया निरन्तर विश्लेषण हुँदै वेबसाइटमा थप अद्यावधिकका काम जारी रहे पनि, उत्तर अष्ट्रेलियामा आएको Severe Tropical Cyclone Fina का कारण केही समायोजन अस्थायी रूपमा रोकिएको जनाएको छ।
Environment Minister Murray Watt ले हालै नियुक्त भएका CEO Dr. Stuart Minchin सँग दुई पटक भेटघाट गरी वेबसाइटको कार्यसम्पादन र लागत दुवै विषयमा असन्तुष्टि औँल्याएका छन्।
“नयाँ वेबसाइटले अपेक्षित कार्यक्षमता र सार्वजनिक उपयोग सहजता दुबै पूरा गर्न सकेको छैन “नयाँ प्रमुखलाई पहिलो प्राथमिकतामा वेबसाइटका समस्या समाधान गर्न र खर्च किन यति बढ्यो भन्नेबारे स्पष्ट प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु।”- मन्त्री Wattले बताएका छन् ।
मन्त्रीले अहिलेसम्म यसलाई “सीधै धनको दुरुपयोग” भन्न नचाहेको बताउँदै, CEO ले प्रस्तुत गर्ने तथ्यगत विवरणपछि मात्र धारणा बनाउने बताएका छन् ।
यसैबीच, Nationals leader David Littleproudले परियोजनालाई सरकारको गम्भीर विफलता भनी टिप्पणी गरेका छन्।
उनले भने “निजी कन्सल्टेन्सीलाई तिर्न गएको ७८ मिलियन डलर र सुरक्षाजाँचसहित कुल ९६.५ मिलियन डलर खर्चिनुले व्यवस्थापकीय पारदर्शिताबारे गम्भीर चिन्ता पैदा गर्छ।
नयाँ वेबसाइटले किसान र परिवारहरूलाई आवश्यक स्थानीय मौसम विवरण उपलब्ध गराउन नसक्नु, र प्रारम्भिक सूचनामा वास्तविक खर्च लुकाइएको देखिनु—दुवै विषय चिन्ताजनक छन्,”।
हाल BOM ले सार्वजनिक विश्वास पुनःस्थापित गर्न रणनीतिक सुधार तथा अद्यावधिकमा काम गरिरहेको बताएको छ। वेबसाइटलाई अझ स्पष्ट, व्यवस्थित र उपयोगी बनाउने काम निरन्तर चलिरहेको छ।

अब ध्यान नयाँ CEO ले पेश गर्ने विस्तृत प्रतिवेदनमा केन्द्रित छ—खर्च कसरी ९६.५ मिलियन डलरसम्म पुग्यो, र भविष्यमा यस्ता गल्ती नदोहरिने व्यवस्था कसरी सुनिश्चित गरिने भन्नेमा।





