Sydney को पश्चिमी क्षेत्र Regents Park मा अवस्थित एउटा फर्निचर कारखानामा शनिबार दिउँसो भीषण आगो लागेको छ।
Park Road र Rose Crescent आसपासबाट करिब 2:30pm बजे धुवाँ उठेको रिपोर्टपछि ठूलो संख्यामा आपतकालीन सेवाहरू परिचालन गरिएका थिए ।
Fire and Rescue NSW ले आगो नियन्त्रणमा गर्न 40 भन्दा बढी अग्निनियन्त्रक तथा 12 दमकलका गाडी स्थलमा पठाएको थियो ।
कारखानामा ठूलो मात्रामारहेका काठका सामान र अन्य अत्यन्तै दहनशील(flammable) सामग्रीका कारण आगो केही मिनेटमै तीव्र रूपमा फैलिएको जनाइएको छ।
Fire and Rescue NSW का Superintendent Adam Dewberry ले आगो नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भने, “स्थिति लगातार विकसित भइरहेको छ। हामी अहिले फैलावट रोक्ने कार्यमा केन्द्रित छौँ। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्र यसको सुरुआत र कारणबारे जाँच सुरु हुनेछ।”
घटनास्थलमा प्रहरी, एम्बुलेन्सका टोली तथा energy authority का प्रतिनिधिहरू समेत खटिएका छन्।

सम्भावित जोखिमका कारण वरपरको क्षेत्र घेराबन्दी गरिएको छ र सर्वसाधारणलाई सुरक्षित दूरीमा बस्न आग्रह गरिएको छ। धुवाँ टाढासम्म देखिन थालेपछि संवेदनशील स्वास्थ्य समूहलाई सावधानी अपनाउन सुझाव दिइएको छ।
यस आगलागीबाट मानवीय क्षति भएको पुष्टि नभए पनि कारखानामा ठूलो मात्रामा संरचनागत र सामग्रीगत क्षति भएको अनुमान गरिएको छ। भवनका केही भाग कमजोर भएकाले दमकलकर्मीहरू अतिरिक्त सतर्कताका साथ भित्री भागमा प्रवेश गरिरहेका छन्।अहिले आगो नियन्त्रणमा लिन प्रयास निरन्तर जारी छ, तर कारखानामा कति क्षति पुगेको छ भन्ने स्पष्ट भइसकेको छैन l
Regents Park को यो औद्योगिक क्षेत्रमा यस स्तरको ठूलो आगलागी हालसालै देखिएको पहिलो घटना मानिएको छ।
अधिकारीहरूले स्थिति स्थिर भएपछि मात्र विस्तृत मूल्यांकन र अनुसन्धान सुरु गर्ने बताएका छन्। स्थानीयलाई सतर्क रहन र प्रभावित क्षेत्रमा अनावश्यक आवागमन नगर्न आग्रह गरिएको छ।





