अष्ट्रेलियाली सरकारले करिब ४० वर्षअघि सुरु भएको मागलाई अन्ततः पूरा गर्दै स्थायी Centre for Disease Control (CDC) स्थापना गर्ने भएको छ। यस सम्बन्धी विधेयक संसदको माथिल्लो सदन Senate बाट पारित भएपछि अब अष्ट्रेलियाको सार्वजनिक स्वास्थ्य प्रणालीमा ठूलो रूपान्तरणको बाटो खुलेको छ।
Public Health Association of Australia (PHAA) ले यसलाई पछिल्ला पुस्ताका लागि “सबैभन्दा महत्वपूर्ण सार्वजनिक स्वास्थ्य पूर्वाधार” भनेको छ। स्वास्थ्य मन्त्री Mark Butler का अनुसार, CDC ले अष्ट्रेलियालाई आगामी महामारी, संक्रामक रोग तथा सार्वजनिक स्वास्थ्य संकटहरूबाट जोगाउने प्रभावकारी संयन्त्रको रूपमा काम गर्नेछ।
CDC स्थापनाको माग सन् १९८७ मै Professor Bob Douglas ले उठाएका थिए। उनले अष्ट्रेलियाको रोग नियन्त्रण प्रणालीलाई “विखण्डित, अपर्याप्त र असम्वद्ध” भनेका थिए। त्यसपछि पनि CDC को आवश्यकता बारम्बार उठाइँदै आएको थियो। सन् २०१७ मा Australian Medical Association (AMA) ले पुनः CDC स्थापनाको औपचारिक माग गरेको थियो। तर COVID-19 महामारीपछि मात्र सरकारले यसको आवश्यकता गम्भीर रूपमा स्वीकार गरेको हो।
AMA की अध्यक्ष Dr. Danielle McMullen का अनुसार, “महामारीले देखायो कि अष्ट्रेलिया यस्ता संकटका लागि पर्याप्त रूपमा तयार थिएन। अहिले मानव र जनावरबीच सर्ने रोग, औषधिप्रति बढ्दो प्रतिरोध (antimicrobial resistance) र नयाँ स्वास्थ्य जोखिमहरूलाई नियन्त्रण गर्न CDC अनिवार्य छ।”
अष्ट्रेलियाले सन् २०२४ जनवरीमा अस्थायी CDC स्थापना गरेको थियो, र अब स्थायी CDC २०२६ जनवरी १ देखि आधिकारिक रूपमा सञ्चालनमा आउनेछ। सुरुवाती चरणमा यसले सार्वजनिक स्वास्थ्य आपतकालीन तयारी र रोग निगरानी प्रणाली सुधारमा काम गर्नेछ। त्यसपछि दीर्घ रोगहरू (chronic diseases) का क्षेत्रमा पनि कार्य विस्तार गर्ने योजना बनाइएको छ। दीर्घ रोगहरू(मधुमेह, मुटु रोग, क्यान्सर, अस्थमा, र मानसिक स्वास्थ्य समस्या आदि) हाल अष्ट्रेलियामा हुने करिब ९० प्रतिशत मृत्युको कारण बनेका छन्।
Albanese सरकार ले CDC स्थापनाका लागि आगामी चार वर्षभित्र २५१ मिलियन अष्ट्रेलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यो निर्णय COVID-19 महामारीपछिको करिब ७०० पृष्ठ लामो सरकारी प्रतिवेदनका सिफारिसअनुसार आएको हो, जसले स्थायी CDC स्थापनालाई राष्ट्रिय प्राथमिकता बनाउन सुझाव दिएको थियो।
कानुनले CDC को स्वतन्त्रता, जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट रूपमा परिभाषित गरेको छ। CDC को नेतृत्व गर्न स्वास्थ्य मन्त्रीद्वारा नियुक्त हुने Director-General लाई अधिकार दिइनेछ। AMA ले यो पदमा “राजनीतिक प्रभावबाट मुक्त र अत्यन्त योग्य व्यक्ति” नियुक्त गर्न माग गरेको छ।
Dr. McMullen ले भनिन्, “CDC लाई अष्ट्रेलियाको सबैभन्दा विश्वसनीय सार्वजनिक स्वास्थ्य संस्था बनाउन वैज्ञानिक दृष्टिकोण, पारदर्शी निर्णय र निष्पक्ष नेतृत्व अपरिहार्य छ।”
करिब चार दशकको प्रतीक्षापछि CDC स्थापनाको यो निर्णयले अष्ट्रेलियाको स्वास्थ्य सुरक्षा प्रणालीमा ऐतिहासिक मोड ल्याएको छ। यो संस्थाले भविष्यका महामारी, संक्रमण र दीर्घ रोगहरूको नियन्त्रणमा देशलाई अधिक सक्षम र स्वावलम्बी बनाउने अपेक्षा गरिएको छ।





