सिड्नीमा ‘नवदुर्गा साहित्यिक कार्यक्रम’ सम्पन्न, नौ देवी स्वरूपलाई समर्पित कवितावाचन

Advertisement

सिड्नी । नेपाली र भुटानी समुदायको उल्लेखनीय उपस्थितिमा सिड्नीमा ‘नवदुर्गा साहित्यिक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। नवरात्रको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा दुर्गाका नौ स्वरूपलाई समर्पित गर्दै नौ जना महिला साहित्यकारहरूले आ–आफ्ना कविता प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा प्रस्तुत कविताहरूले धार्मिक, सांस्कृतिक र साहित्यिक गम्भीरतालाई एकैसाथ उजागर गरेको सहभागीहरूले बताएका छन् ।

शहीदलाई सम्झँदै कार्यक्रमको थालनी

कार्यक्रमको सुरुवात नेपालमा हालै भएको ‘जेन–जी आन्दोलनमा सहादत प्राप्त शहीदहरूको सम्झनामा गरिएको हो । सहभागीहरूले दीप प्रज्वलन र एक मिनेट मौन धारणमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यसपछि स्वदेशगान गाएर कार्यक्रमको औपचारिक थालनी गरिएको हो । आयोजकका अनुसार यो केवल साहित्यिक जमघट मात्र नभई मातृभूमि र संघर्षमा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्ने अवसर पनि हो ।

नौ देवी स्वरूपलाई समर्पित कवितावाचन

नवरात्रिका दिनअनुसार प्रत्येक कवितालाई देवीका स्वरूपहरूलाई समर्पित गर्दै प्रस्तुत गरिएको कार्यक्रममा, पहिलो दिन शैलपुत्रीलाई क्यानबेराकी महता घिमिरे चापागाईंले कविता वाचन गर्नुभएको थियो। त्यसपछि क्रमशः दोस्रो दिनको ब्रह्मचारिणीलाई अनेसास एनएसडब्ल्यूकी महासचिव भावना पराजुलीले , तेस्रो दिनको चन्द्रघण्टालाई रिचा गौतमले , चौथो दिनको कुष्माण्डालाई ममता मिश्रले , पाँचौँ दिनको स्कन्धमातालाई श्वेता मैनालीले , छैटौँ दिनको कात्यायनीलाई सुधिरा शाहले , सातौँ दिनको कालरात्रीलाई प्रतिज्ञा अधिकारीले , आठौँ दिनको महागौरीलाई प्रज्ञा पनेरुले र नवौँ दिनको सिद्धिदात्रीलाई कार्यक्रम संयोजक सानु घिमिरेले कवितावाचन गर्दै नौ दिनसम्म नवदुर्गाका नौ रूपलाई काव्यिक श्रद्धाञ्जली अर्पण गरिएको थियो।

दोस्रो पुस्ताको उल्लेखनीय सहभागिता

कार्यक्रममा केवल वरिष्ठ साहित्यकार मात्र नभई दोस्रो पुस्ताको सक्रिय सहभागिता पनि देखिएको छ । १२ वर्षीया मुमल श्रेष्ठले ‘नवदुर्गाको उज्यालोमा’ शीर्षक कविता प्रस्तुत गरेर दर्शकको मन जित्नुभएको हो । यसले नयाँ पुस्ता पनि साहित्य र संस्कृतिप्रति आकर्षित भइरहेको स्पष्ट गरेको सहभागीहरूले बताउनुभएको छ । त्यस्तै, भुटानी समुदायकी पाँच महिलाले संयुक्त रूपमा दुर्गा स्तुति प्रस्तुत गरेर कार्यक्रमलाई अझ विविध र सामूहिक बनाउनुभएको हो ।

समीक्षात्मक समिति र गुणस्तरीय प्रस्तुति

कार्यक्रमलाई साहित्यिक दृष्टिले अझ प्रभावकारी बनाउन समीक्षात्मक समिति गठन गरिएको थियो। साहित्यकार सौरभ किरण श्रेष्ठको संयोजकत्वमा प्रभा भट्टराईसुरेन्द्र दवाडी सदस्य रहेको समितिले कवितामा सुधार सुझाव प्रदान गर्नुभएको छ। सम्पादन तथा पुनर्लेखनपछि ती कविताहरू पुनः प्रस्तुत गरिएका थिए, जसले कार्यक्रममा साहित्यको गहिरोपन थपेको सहभागीहरूको धारणा छ ।

आयोजकको भनाइ र प्रतिबद्धता

समापन सत्रमा संयोजक सानु घिमिरेले अस्ट्रेलियामा रहेका महिला साहित्यकारलाई सबल बनाउन र सामूहिक अभ्यासमार्फत साहित्य सिर्जनालाई सशक्त बनाउन आफ्नो समूह सक्रिय रहेको बताउनुभएको छ । उहाले यस्ता कार्यक्रमहरूले सिर्जनशीलता मात्र होइन, आपसी सहकार्य र सामुदायिक भावनालाई समेत प्रबर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सहकार्य, प्रायोजन र मिडिया पार्टनर

कार्यक्रम अनेसास अस्ट्रेलिया, एसोसिएसन अफ भुटानीज इन अस्ट्रेलिया र ब्ल्याकटाउन नेपलिज सोसाइटीको सहकार्यमा सम्पन्न भएको छ। सञ्चालन एसोसिएसन अफ भुटानीज इन अस्ट्रेलियाकी महिला विभाग प्रमुख दिव्य श्री आचार्यले गर्नुभएको थियो । कार्यक्रमको प्रायोजन एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको थियो भने साहित्यपोस्ट डट कम मिडिया पार्टनरका रूपमा संलग्न थियो। आयोजकका अनुसार कार्यक्रममा प्रस्तुत सबै कविताहरू साहित्यपोस्टमा प्रकाशित गरिनेछ।

महत्व र प्रभाव

यस किसिमका साहित्यिक गतिविधिले नेपाली र भुटानी समुदायबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुर्‍याएको छ। नवरात्रको धार्मिक सन्दर्भलाई साहित्यिक सिर्जनासँग जोड्दै महिलाको आवाजलाई केन्द्रमा राख्नु कार्यक्रमको विशेषता रहेको छ । सहभागीहरूले यस्ता प्रयासहरूले अस्ट्रेलियास्थित नेपाली साहित्यिक गतिविधिको स्तर उकास्ने मात्र नभई नयाँ पुस्तालाई सिर्जनात्मक अभ्यासतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्।

spot_img