अमेरिकातर्फको व्यवसायिक पार्सल सेवा पुनः सुरु अष्ट्रेलिया पोस्ट

spot_img

क्यानबेरा । अष्ट्रेलिया पोस्टले अमेरिकासहितका अमेरिकी भूभागतर्फको व्यवसायिक पार्सल Delivery सेवा तीन दिन अगावै पुनः सुरु गर्ने भएको छ। अमेरिकी सीमा शुल्क र आयात महसुल नियममा आएको परिवर्तनका कारण केही समय स्थगित भएको यो सेवा अब आउँदो सेप्टेम्बर २२ सोमबारदेखि सञ्चालनमा आउनेछ।

यसअन्तर्गत अष्ट्रेलियाबाट America, Puerto Rico, Guam, Northern Mariana Islands, US Virgin Islands र अमेरिकी साना बाहिरी टापुहरूमा व्यवसायिक ग्राहकले सजिलै सामान पठाउन सक्नेछन्। यसअघि अष्ट्रेलिया पोस्टले उक्त सेवा सेप्टेम्बर २५ सम्ममा मात्र सुरु गर्ने घोषणा गरेको थियो। सेवा पुनः सुरु गर्ने मिति अघि सारेसँगै अष्ट्रेलियाली व्यवसायी र ग्राहकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

अमेरिकी सरकारद्वारा भन्सार र आयात महसुल नियम कडाइ भएपछि अष्ट्रेलिया पोस्टसहित विश्वका अन्य ठूला डाक सेवाहरूले अमेरिका तर्फको ढुवानी अस्थायी रूपमा स्थगित गरेका थिए। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (US Customs and Border Protection) द्वारा अधिकृत तेस्रो पक्ष प्रदायक Zonosसँग सहकार्य गरेपछि अष्ट्रेलिया पोस्टले नयाँ नियमअनुसार सामान ढुवानी सहज हुने व्यवस्था मिलाएको जनाएको छ।

व्यवसायिक करार भएका ग्राहक र My Post Business ग्राहकले सेप्टेम्बर २२ देखि पार्सल पठाउन सक्नेछन् भने खुद्रा (retail) ग्राहकहरूले भने आगामी अक्टोबरदेखि मात्र अमेरिका तर्फ सबै प्रकारका पार्सल पठाउन पाउनेछन्। हाल पत्र, कागजात वा कुनै व्यावसायिक मूल्य नभएका वस्तुहरू तथा १०० अमेरिकी डलरभन्दा कम मूल्यका उपहारहरू भने कुनै शुल्क नलागी पठाउन सकिने व्यवस्था यथावत रहेको छ।

अष्ट्रेलिया पोस्टका पार्सल, पोस्ट तथा ई–कमर्स सेवाका कार्यकारी महाप्रबन्धक ग्यारी स्टारले ग्राहकको धैर्यप्रति आभार प्रकट गर्दै भने, “हामीले वाचा गरेको भन्दा तीन दिन अगावै अमेरिकातर्फको ढुवानी सेवा पुनः सुरु गर्न पाउँदा खुसी छौँ। अमेरिकी सरकारले ल्याएका नयाँ भन्सार र आयात नियमले ग्राहकहरूलाई परेको असर हामी बुझ्छौँ र यसलाई छिटो समाधान गर्न चौबीसै घण्टा खटिएका थियौँ।”

स्टारले अझ थप्दै अष्ट्रेलियाली व्यवसायीहरूका लागि अमेरिका जस्तो विशाल बजारमा समयमै सामान पठाउन सक्ने अवसर अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गरे। उनका अनुसार यो कदमले निर्यात व्यवसाय, अनलाइन व्यापार र ग्राहक सेवामा सकारात्मक प्रभाव पार्नेछ।

यसअघि अष्ट्रेलिया पोस्टसहित युरोप र एसियाका ठूला डाक सेवाहरू पनि अमेरिकी नियमले प्रभावित भएका थिए। तर अष्ट्रेलिया पोस्टले समयमै समाधान ल्याएर सेवा पुनः सञ्चालन गर्न थालेपछि अन्य देशका डाक सेवाले समेत यसलाई अनुकरण गर्ने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूका अनुसार, सेवा पुनः सुरु हुनुले अष्ट्रेलियाली व्यवसायिक समुदाय, विशेषगरी साना तथा मध्यम स्तरका अनलाइन व्यवसायीलाई ठूलो राहत दिनेछ। पुनर्निर्माण, आपूर्ति श्रृंखला, र ग्राहक भरोसा पुनः कायम गर्न यो कदमलाई महत्त्वपूर्ण मानिएको छ।

spot_img