एनआईसी एशिया बैंकका सीईओले दिए राजिनामा

Advertisement

    काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदबाट राजीनामा दिएका छन्। न्यौपानेले असोज १ गतेदेखि राजीनामा बुझाएका थिए, जसलाई बैंकको सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले स्वीकृत गरेको छ।

    न्यौपाने स्वास्थ्य कारण देखाउँदै पदबाट अलग हुने निर्णयमा पुगेका हुन् भन्ने बुझिएको छ। बैंकको नेतृत्वमा रहँदा उनले डिजिटल बैंकिङ प्रवर्द्धन, शाखा विस्तार तथा ग्राहकमैत्री सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उनको कार्यकालमा बैंकले वित्तीय क्षेत्रमा प्रतिस्पर्धात्मक सफलतासहित आफ्नो ब्रान्ड इमेजलाई मजबुत बनाउन सफल भएको मानिन्छ।

    सञ्चालक समितिको निर्णयअनुसार अब बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (Acting CEO) का रूपमा नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) सन्तोष कुमार राठीले जिम्मेवारी सम्हाल्ने भएका छन्। राठीले बैंकमा लामो अनुभवका साथ विभिन्न नेतृत्व भूमिकामा रहेर काम गरिसकेका छन्। उनको नेतृत्वमा बैंकले निरन्तर सेवा र व्यवस्थापनमा निरन्तरता दिने अपेक्षा राखिएको छ।

    एनआईसी एशिया बैंक नेपालकै अग्रणी वाणिज्य बैंकमध्ये एक हो, जसको देशभर ३५० भन्दा बढी शाखा, एटीएम र डिजिटल सेवा विस्तार भएको छ। सीईओ परिवर्तनसँगै बैंकको आगामी रणनीति र नीतिगत प्राथमिकतामा कस्तो प्रभाव पर्नेछ भन्ने विषयमा ग्राहक तथा सरोकारवालाहरूको चासो बढेको छ।

    spot_img