अष्ट्रेलियाली युवाका लागि नयाँ मदिरा–सुरक्षा सचेतना अभियान सुरु

Advertisement

क्यानबेरा । अष्ट्रेलियाली सरकारले युवाहरूलाई विदेश यात्रा अघि मदिरा सेवनसम्बन्धी जोखिमबारे सचेत गराउने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ। गत वर्ष लाओसमा मेथानोल विषाक्तताका कारण १९ वर्षीया दुई किशोरीको मृत्यु भएपछि सरकारले “Partying Safely Hub” नामक विशेष सूचना स्रोत सार्वजनिक गरेको हो।

यो हब अब आधिकारिक रूपमा Smartraveller वेबसाइट मार्फत उपलब्ध छ, जहाँ युवाहरूले सुरक्षित रुपमा विदेशमा रमाइलो गर्ने तरिका, मदिरा र लागूपदार्थसँग सम्बन्धित जोखिमहरू, साथै मेथानोल विषाक्तताको लक्षण पहिचान गर्ने उपायबारे विस्तृत जानकारी पाउन सक्छन्।

हबमा उपलब्ध सामग्री

“Partying Safely Hub” मा सुरक्षाबारे पोस्टर, सचेतना भिडियो, नि:शुल्क फ्याक्टशीट र सजिलो भाषा प्रयोग गरिएको मार्गनिर्देशन सामाग्री समावेश गरिएको छ। यसमार्फत युवाहरूलाई विशेषतः निम्न चेतावनी दिइएको छः

  • लेबल नभएका बोतल वा अज्ञात स्रोतबाट आएको मदिरा नपिउनु,
  • फ्री ‘शट’ वा घरमै बनेको/बुटलेग मदिराबाट टाढा रहनु,
  • आफ्नो पेय पदार्थ छोडेर कतै नजानु।

Schoolies लक्षित

यो अभियान मुख्यतया नोभेम्बर महिनामा हुने Schoolies कार्यक्रमलाई लक्षित गरिएको हो, जसमा हजारौँ अष्ट्रेलियाली किशोर–किशोरीहरूले अध्ययन समाप्तिको खुसी मनाउन विदेश यात्रा गर्ने गर्छन्। सरकारको भनाइमा, यही समयमा असुरक्षित पेय सेवनका कारण स्वास्थ्य जोखिम बढ्ने सम्भावना उच्च हुने भएकाले विशेष सतर्कता आवश्यक छ।

सरकारको सन्देश

विदेश मामिला मन्त्री पेनी वङले यसबारे जानकारी दिँदै भनिन्, “हाम्रो युवापुस्ता विश्व घुम्नुअघि जोखिम बुझून्, सुरक्षित विकल्प रोजून् र सन्दिग्ध मदिराबाट टाढा रहून् भन्ने हाम्रो स्पष्ट सन्देश हो।”

अभियानले युवाहरूबीच खुलेर संवाद गर्न प्रोत्साहित गर्ने र साथीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्ने बताइएको छ।

अष्ट्रेलियाली सरकारद्वारा सुरु गरिएको यो अभियानले अन्तर्राष्ट्रिय यात्रामा निस्कन लागेका युवाहरूलाई जीवनरक्षक जानकारी दिने अपेक्षा गरिएको छ। अधिकारीहरूले थप जानकारीका लागि Partying Safely Hub हेर्न आग्रह गरेका छन्।

spot_img