
रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन्। तर उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि गम्भीर प्रश्न उठाएका छन्।
वैधतामाथि प्रश्न
अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा लावरोभले भने, “वार्ताको अर्थ त्यतिबेला मात्र हुन्छ जब हामीलाई कागजातमा हस्ताक्षर गर्ने व्यक्ति वैध छ भन्ने स्पष्ट हुन्छ।” उनले थपे, “युक्रेनको संविधानअनुसार जेलेन्स्की अब राष्ट्रपति होइनन्। उनी डि-फ्याक्टो प्रमुख त हुन्, तर सम्झौतामा हस्ताक्षर गर्ने को हो भन्ने गम्भीर प्रश्न छ।”
रूस लामो समयदेखि जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएको छ। जेलेन्स्कीको कार्यकाल यस वर्ष मे महिनामा औपचारिक रूपमा सकिएको भए पनि किभले मार्शल ल लागू भएको कारण उनका अधिकार निरन्तर रहेको दाबी गर्दै आएको छ।
अमेरिकी पक्षको प्रश्न
यसअघि वासिङ्टन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्स्कीसँगको भेटमा युक्रेनमा नयाँ चुनावबारे प्रश्न उठाएका थिए। जवाफमा जेलेन्स्कीले युद्ध जारी रहँदा चुनाव सम्भव नभएको बताएका थिए।
प्रत्यक्ष वार्ताको आह्वान
यता, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार दिएको अभिव्यक्तिमा पुटिनसँगको प्रत्यक्ष भेटवार्तालाई युद्ध रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले भने, “युद्ध समाप्त गर्ने बाटो वार्ता बाहेक अरु छैन। पुटिनसँग प्रत्यक्ष भेट नै शान्तिको लागि निर्णायक कदम हुनेछ।”
द्वन्द्वबीच वार्ताको सम्भावना
युक्रेन–रूस युद्ध दीर्घकालीन चरणमा पुगेका बेला लावरोभको पछिल्लो भनाइलाई विश्लेषकहरूले मिश्रित संकेतका रूपमा लिएका छन्। एकातर्फ रूसले जेलेन्स्कीको वैधता प्रश्न उठाएर वार्ताको ढोका आधा बन्द गरेको देखिन्छ भने अर्कोतर्फ पुटिन भेट्न तयार रहेको सन्देशले सम्भावित वार्ताको संभावना अझै जिवित रहेको बताउँछ।
