
ब्रिस्बेन (अष्ट्रेलिया)।एक वर्षअघि ब्रिस्बेनको हानलोन पार्कमा नौ महिनाको शिशु लुकामाथि तातो कफी खन्याउने ३३ वर्षीय पुरुष अझै पनि कारबाहीको दायरामा नआएको पाइएको छ। पीडित परिवारले निरन्तर न्यायको माग गर्दै आएका छन् तर घटनाको दोषी चीनमै स्वतन्त्र जीवन बिताइरहेको छ।
दर्दनाक घटना
२०२४ अगस्टमा लुका आमासँग पार्कमा खेलिरहेका बेला सो पुरुषले थर्मसमा रहेको तातो कफी शिशुमाथि खन्याएर फरार भएका थिए। यस आक्रमणपछि लुकाको अनुहार, घाँटी र छातीमा गम्भीर जलन भएको थियो। उपचारको क्रममा बालकले कृत्रिम छाला प्रत्यारोपण, लेजर उपचारसहित आठवटा शल्यक्रिया भोगिसक्नुपरेको छ।
लुकाको अवस्थाले परिवारलाई लगातार पीडामा पारेको छ। आमाले सामाजिक सञ्जालमार्फत “प्रत्येक उपचार हाम्रो छोरालाई भएको पीडाको सम्झना मात्र हो, तर अझैसम्म न्याय पाएका छैनौँ,” भन्दै भावुक अपिल गरेकी छिन्।
चीनतर्फ फरार
क्विन्सल्याण्ड प्रहरीले प्रारम्भिक अनुसन्धानपछि घटनापछि केही दिनमै अभियुक्त अष्ट्रेलियाबाट बाहिरिएको निष्कर्ष निकालेको थियो। तर तत्कालै उनलाई पहिचान गर्न नसकिएकाले पक्राउ प्रक्रिया अघि बढाउन कठिनाइ भएको थियो। पछिल्लो विवरणअनुसार उनी अहिले चीनमा रहेका पुष्टि भएको छ।
अष्ट्रेलियन फेडरल पुलिस (AFP) र क्विन्सल्याण्ड प्रहरीले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “२०२४ अगस्ट ३१ मा अष्ट्रेलिया छाडेपछि, अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर अभियुक्तलाई न्यायको कठघरामा ल्याउन हामीले लगातार प्रयास गरिरहेका छौँ।”
कानुनी चुनौती
अष्ट्रेलिया र चीनबीच प्रत्यार्पण सम्झौता नभएको कारण उनलाई अष्ट्रेलियामा फर्काउने प्रक्रिया जटिल बनेको छ। तर, चीनले आफ्ना नागरिकले विदेशमा गरेका अपराधलाई पनि आफ्नै कानुनअनुसार कारबाही गर्न सक्ने प्रावधान रहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। यसरी सम्भावित कारबाही चीनमै हुन सक्ने देखिएको छ।
आमाको भावुक अपिल
लुकाकी आमाले सामाजिक सञ्जालमार्फत न्यायका लागि अपिल गर्दै भन्नुभयो, “मेरो छोराले आठवटा दुखदायी शल्यक्रिया सहनुपरेको छ। प्रत्येक प्रक्रिया उसलाई भएको पीडाको पुनः सम्झना हो। आज पनि त्यो दिनजस्तै पीडा महसुस हुन्छ, जब थाहा हुन्छ कि जसले हाम्रो बच्चालाई दुख दियो, ऊ अझै स्वतन्त्र छ। यो वास्तविकता अस्वीकार्य मात्र होइन, कानुनी प्रणाली र अन्तर्राष्ट्रिय सम्बन्धले पीडित र बालबालिकालाई जोगाउन असफल भएको प्रमाण हो।”
उहाका अनुसार लुका अहिले पनि निरन्तर उपचारको क्रममा छन्, र प्रत्येक शल्यक्रिया बालकको शारीरिक तथा मानसिक पीडाको गहिरो घाउ बनेर बाँकी छ।
न्यायको अपेक्षा
यस घटनाले अष्ट्रेलियामा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै पनि आक्रोश र चिन्ता बढाएको छ। पीडित परिवार, प्रहरी र अन्तर्राष्ट्रिय संस्था सबैको प्रयास जारी भए पनि एक वर्ष बितिसक्दा पनि दोषी अझै न्यायको दायरामा आउन नसक्नु पीडादायी तथ्य बनेको छ।
