
सिड्नी – अष्ट्रेलियामा क्रेडिट कार्डमार्फत संकलन गरिने रिवार्ड्स पोइन्ट्स प्रणाली पुनः प्रश्नचिन्हमा परेको छ।
रिजर्भ बैंकका नयाँ प्रस्तावहरूका कारण Frequent Flyer लाभहरू कटौती हुन सक्ने आशंका बढ्दै गएको छ। हाल लाखौँ अष्ट्रेलियाली उपभोक्ताले आफ्नो खर्चअनुसार पोइन्ट्स संकलन गर्ने गरेका छन् तर “Free Flight” वा सामान किन्न आवश्यक पोइन्ट्स संख्या बढ्दै गएको गुनासो उपभोक्ताले गरेका छन्।
भर्जिन र क्वान्टसको दबदबा
अष्ट्रेलियामा Qantas Frequent Flyer र Virgin Velocity कार्यक्रम प्रमुख छन्। भर्जिनले हालै पुनः उद्योगलाई हलचलमा पार्दै ‘१ पोइन्ट रिवार्ड्स स्टोर’ ल्याउने घोषणा गरेको छ। यस कार्यक्रमअन्तर्गत सदस्यहरूले एक पोइन्टमै $८४९ मूल्यको Dyson Airwrap वा $५४९ मूल्यको Bose Headphones जस्ता महँगा वस्तु खरिद गर्न सक्नेछन्।
Virgin Velocityका प्रमुख कार्यकारीNick Rohrlachका अनुसार, २०२३ मा गरिएको यस्तै योजनापछि ग्राहकको मागअनुसार यो दोस्रो पटक पुनः ल्याइएको हो। उहाँले भन्नुभयो, “हामी चाहन्छौं ग्राहकले वर्षौंसम्म पोइन्ट जम्मा गर्न नपरोस्, बरु छोटो समयमा उपलब्ध हुने पुरस्कार पाउन सजिलो होस्।”
अन्य कम्पनीको आकर्षक योजना
Bunnings ले पनि आफ्नो Flybuys पोइन्टलाई नगदझैँ प्रयोग गर्न सकिने कार्यक्रम ल्याएको छ। यस अन्तर्गत ग्राहकहरूले न्यूनतम $१० बराबरको पोइन्ट प्रयोग गरेर सामान खरिद गर्न सक्नेछन्।
विशेषज्ञको चेतावनी
Payment Servicesका प्रबन्ध निर्देशक तथा पोइन्ट विशेषज्ञBrad Kellyले भने यस प्रणाली लामो समयसम्म आकर्षक नहुने चेतावनी दिनुभएको छ। उहाँका अनुसार, “कोभिडपश्चात् धेरै उपभोक्ता ठूलो संख्यामा पोइन्ट बोकेर बसेका छन्, जसलाई खर्च गराउनकै लागि कम्पनीहरूले पुरस्कारहरू कमजोर बनाइरहेका छन्।”
भर्जिनले गत वर्ष न्यूनतम भाडा ५,९०० पोइन्टमै पाउन सकिने व्यवस्था गरेको थियो। तर क्रेडिट कार्ड ग्राहकले प्रति खर्च डलरमा पाउने पोइन्ट्स संख्यालाई घटाएर ५ बाट ४ बनाइएको छ। उता क्वान्टसले भने यसै वर्षबाट Classic Reward भाडा बढाएको छ, जुन २०१९ पछि पहिलो पटक हो।
सीमित लाभ र असमान पहुँच
Kellyका अनुसार, अब साधारण सदस्य (Bronze) का लागि पुराना जस्तै लाभ पाउन गाह्रो हुने छ। उनले भने, “पोइन्ट जम्मा गर्ने खेल अब शीर्ष २० प्रतिशतका लागि मात्र रहनेछ। सामान्य Qantas सदस्यले वर्षमा करिब $३०,००० खर्च गरे पनि जम्मा हुने पोइन्ट्सले ठूला गन्तव्यमा यात्रा सम्भव हुने छैन।”
क्रेडिट कार्डबाट बाहिरिने सम्भावना
भविष्यमा क्रेडिट कार्डभन्दा सिधै खुद्रा पसल वा व्यापारीसँगको खरिदमा पोइन्ट संकलन प्रणाली बढ्ने अनुमान गरिएको छ। व्यापारीहरूले क्वान्टस वा भर्जिनसँग पोइन्ट किन्दै ग्राहकलाई प्रत्यक्ष दिने सम्भावना बढेको विशेषज्ञहरूको भनाइ छ।
भविष्यको दृष्टिकोण
क्वान्टस लोयल्टी प्रमुख Andrew Glanceका अनुसार, खुद्रा पसलमार्फत पोइन्ट आर्जन गत पाँच वर्षमा दोब्बर भएको छ र २०३० सम्म फेरि दोब्बर हुने अनुमान गरिएको छ।
यसरी, रिवार्ड्स पोइन्ट्स प्रणाली अष्ट्रेलियामा अझै लोकप्रिय रहे पनि विशेषज्ञहरूले यसको मूल्य र उपलब्धतामा क्रमशः गिरावट आउने चेतावनी दिएका छन्।






