मुख्यमन्त्री कार्कीको पूर्वराष्ट्रपति भण्डारीसँग सुटुक्क भेट

spot_img

विराटनगर – नेकपा एमालेले कार्यकर्तालाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नजान भन्दै उर्दी जारी गरेको बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्रीहरूको टोलीले भने सोमबार राति सुटुक्क भण्डारीसँग भेट गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले विराटनगरस्थित बिग होटलमा भण्डारीसँग करिब एक घण्टा ‘वान टु वान’ छलफल गर्नुभएको थियो। यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सामूहिक रूपमा उहाँलाई भेट गर्नुभएको थियो।

स्रोतका अनुसार भेटघाटलाई गोप्य राख्ने प्रयास गरिएको थियो। तर, छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अपमान गरेको गुनासो मुख्यमन्त्री कार्कीसमक्ष राखेको बताइएको छ।

कार्यकर्तालाई भने रोक

पूर्वराष्ट्रपति भण्डारीले विराटनगरस्थित एमाले पार्टी कार्यालय पाञ्चालिकमा कार्यकर्ता भेटघाट गर्ने चर्चा थियो। तर एमाले विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतले कुनै औपचारिक कार्यक्रम नभएको स्पष्ट गर्दै कार्यकर्तालाई त्यहाँ नजान निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जाल र म्यासेजमार्फत भइरहेको प्रचारलाई ‘भ्रामक’ भन्दै कार्यकर्ता नझुक्किन आग्रह गरेका छन्।

नेकपा एमालेले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किए पनि सदस्यता नदिने निर्णय गरिसकेको छ। साथै, भण्डारीसम्बन्धी विषयमा छलफल नगर्न मातहत कमिटीलाई निर्देशनसमेत दिइएको छ। तर विराटनगर महानगरमा भण्डारी पक्षधर बहुमत भएकाले भेटघाट कार्यक्रम आयोजना भएको र त्यसलाई रोक्न ओली पक्षधर नेताहरूले कार्यकर्तालाई फोनमार्फत दबाब दिएको भण्डारी पक्षका नेताहरूको आरोप छ।

spot_img