
अष्ट्रेलियाको करिब ८० अर्ब डलर बराबरको पशुपालन उद्योगलाई गम्भीर रोग फुट एन्ड माउथ डिजिज (FMD) ले ठूलो जोखिममा पार्न सक्ने बताइएका बेला वैज्ञानिकहरूले नयाँ खोप विकास गरेको दाबी गरेका छन्। यो खोप प्रभावकारी भएमा अष्ट्रेलियामा उक्त रोग फैलिन नदिने र पशुपालन उद्योगलाई जोगाउने महत्वपूर्ण उपाय हुने विश्वास लिइएको छ।
रोगको जोखिम
FMD रोग गाई, भेडा र सुंगुरमा देखिने अत्यन्त संक्रामक रोग हो। यदि यो अष्ट्रेलियामा प्रवेश गर्यो भने नियन्त्रण गर्ने एक मात्र उपाय ठूलो संख्यामा पशुहरुलाई बध गर्नुपर्ने अवस्था आउनेछ। यसले अष्ट्रेलियाको पशुपालन उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ।
नयाँ खोपको विकास
नयाँ खोप अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्स (UNSW) का प्रोफेसर पाल थोर्डार्सन (Pall Thordarson) र उहाँको टोलीले विकास गर्नुभएको हो। उहाँहरूको भनाइमा यो mRNA खोप परम्परागत खोपभन्दा सुरक्षित र प्रभावकारी हुने देखिएको छ।
परम्परागत खोपहरू दुर्बल पारिएका भाइरसका नमुनाबाट बनाइन्छन्, जसले कहिलेकाहीँ नियन्त्रण नभएमा रोग नै फैलाउने सम्भावना हुन्छ। तर mRNA खोप पूर्णतया प्रयोगशालामा तयार गरिने भएकाले त्यस्तो जोखिम रहँदैन।
थोर्डार्सनका अनुसार mRNA खोपले भाइरसको सतहमा रहेको प्रोटिनको अंशलाई कोड गरेर पशुको रोग प्रतिरोधात्मक प्रणालीलाई सचेत बनाउँछ। जब वास्तविक भाइरसले आक्रमण गर्छ, त्यसबेला शरीरले तुरुन्तै रोगसँग लड्न सक्ने क्षमता पाउँछ।

परीक्षण र नतिजा
जर्मनीमा गरिएको परीक्षणलाई उद्धृत गर्दै थोर्डार्सनले खोप लगाइएका स्वस्थ गाईहरूमा FMD को संक्रमण देखिएन भनेका छन्। “यो खोपले पशुहरूलाई सुरक्षित राख्न सक्ने प्रारम्भिक प्रमाण हामीसँग आएको छ,” उनले भने।
उत्पादन विस्तारको चुनौती
थोर्डार्सनले खोपलाई अब ठूलो संख्यामा उत्पादन गर्नुपर्ने बताउनु भयो। “ल्याबमा केही दर्जन खोप बनाउने कुरा होइन, सम्भावित प्रकोप आउँदा तत्काल १ लाखदेखि १० लाख डोज आवश्यक पर्छ,” उहाँले चेतावनी दिनुभयो।
उहाँको अनुसार यो केवल रोग रोक्ने कुरा मात्र होइन, कृषकहरूको आजीविका जोगाउने र उपभोक्ताका लागि सुपरमार्केटमा आवश्यक वस्तुहरू उपलब्ध राख्ने विषय पनि हो।
अष्ट्रेलियामा कडाइको कारण सुरक्षा
हाल अष्ट्रेलिया कडाइका जैविक सुरक्षा नियमका कारण FMD मुक्त रहेको छ। यही कारण अष्ट्रेलियाको पशुपालन उत्पादन विश्व बजारमा अत्यन्त मागमा छ। तर इन्डोनेसिया र बेलायतजस्ता मुलुकमा FMD फैलिँदा तिनको पशुपालन उद्योग ध्वस्त भएको उदाहरण अझै ताजा छ।
थोर्डार्सनले भन्नुभयो, “हाम्रो बजार कायम हुनुको मुख्य कारण यही हो कि अन्य देशहरू रोगग्रस्त मुलुकबाट मासु खरिद गर्न चाहँदैनन्, किनभने उनीहरू आफ्नै पशु संख्यालाई रोगमुक्त राख्न चाहन्छन्।”
नयाँ mRNA खोप प्रभावकारी र सुरक्षित देखिएको भए पनि अब यसलाई व्यापक उत्पादनमा लैजानु पर्ने ठूलो चुनौती रहेको वैज्ञानिकहरूको भनाइ छ। यदि अष्ट्रेलियाले आवश्यक मात्रामा उत्पादन गर्न सकेन भने सम्भावित प्रकोपले देशकै ठूलो आर्थिक आधारशिला मानिने पशुपालन उद्योगलाई संकटमा पार्न सक्छ।
