
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसदलाई विस्तृत जानकारी गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिता, आफ्नो सम्बोधन र विभिन्न उच्चस्तरीय भेटवार्ताबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओली साउन २३ गते तुर्कमेनिस्तानको राजधानी अश्गाबातबाट फर्किएका थिए। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा उनले सम्बोधन गर्दै भूपरिवेष्टित मुलुकहरूको व्यापार, यातायात पूर्वाधार, ऊर्जा पहुँच र जलवायु परिवर्तनजस्ता चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याएका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुखसँग द्विपक्षीय छलफल गरेका थिए। साथै, संयुक्त राष्ट्रसंघका उच्च अधिकारी र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गर्दै पारस्परिक हितका विषयमा विचारविमर्श भएको उनले जानकारी दिए।
प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपा (एमाले) सांसद सूर्य थापा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीको सहभागिता थियो।
सरकारका अनुसार, यो भ्रमणले नेपाल र तुर्कमेनिस्तानबीचको सम्बन्धमा नयाँ आयाम थप्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाएको छ।
