साउथ अष्ट्रेलियामा चाइल्डकेयर केन्द्रहरूमा मोबाइल प्रयोगमा पूर्ण प्रतिबन्ध

Advertisement

साउथ अष्ट्रेलियाले चाइल्डकेयर केन्द्रहरूमा व्यक्तिगत मोबाइल फोन र क्यामेरायुक्त उपकरणहरूको प्रयोगमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सेप्टेम्बर १ देखि लागू हुने यो नियम अनुसार, शिक्षक तथा कर्मचारीले काम गरिरहेको समय व्यक्तिगत फोन, स्मार्ट वाच, आइप्याड वा कुनै पनि क्यामेरायुक्त उपकरण प्रयोग गर्न नपाउने छन्।

शिक्षामन्त्री ब्लेयर बोयरले यस कदमलाई “बालबालिकाको सुरक्षाका लागि अत्यावश्यक र समयमै लिइएको निर्णय” भन्दै सेवा प्रदायकलाई चेतावनी दिएका छन्। “हामी यो विषयलाई गम्भीर रूपमा लिएका छौँ, नियम उल्लंघन गर्नेहरूलाई कारबाही हुनेछ,” मन्त्री बोयरले भने।

नयाँ नियमका मुख्य बुँदाहरू:

  • शिक्षक तथा स्टाफले व्यक्तिगत उपकरण प्रयोग गर्न पाउने छैनन्,
  • केन्द्र र अभिभावकबीचको सम्पर्क केन्द्रकै स्वामित्वमा रहेका, निर्देशकद्वारा नियन्त्रित डिभाइस मार्फत मात्र हुनेछ,
  • स्मार्ट वाचलगायत अन्य उपकरणमा क्यामेरा भएको खण्डमा प्रतिबन्ध लागू हुनेछ।

जरिवाना कडा, निरीक्षण बढ्ने

नियम उल्लंघनको पहिलोपटकमा १००० डलरभन्दा बढी जरिवाना लाग्नेछ भने, दोहोरिएको अवस्थामा यो ५०,००० डलरसम्म पुग्न सक्छ। सबै प्री-स्कूल तथा चाइल्डकेयर सेन्टरहरूले महिनाको अन्त्यसम्म नियम पालना भएको प्रमाण पेश गर्नुपर्नेछ, त्यसपछि Education Standards Board ले अकस्मात निरीक्षण सुरु गर्नेछ।

हालैका घटनाले गति दिएको निर्णय

यो निर्णय केही महिनाअघि नै तयारी अवस्थामा थियो तर क्लेम्जिगस्थित एक केन्द्रमा देखिएको आपत्तिजनक व्यवहारमेलबर्नको चाइल्डकेयर कर्मचारीमाथि ८ बालबालिकासँग सम्बन्धित ७० भन्दा बढी अभियोग लागेपछि कार्यान्वयनको मिति अगाडि सारिएको बुझिएको छ।

युनियनको व्यावहारिक चासो

युनियनले निर्णयको स्वागत गरे पनि व्यावहारिक चुनौती हरूबारे चिन्ता व्यक्त गरेको छ। United Workers’ Union की प्रतिनिधि क्यारोलिन स्मिथका अनुसार, केही शिक्षकहरूले मधुमेह वा हृदयसम्बन्धी स्वास्थ्य निगरानीका लागि स्मार्ट वाच प्रयोग गर्ने गर्छन्। यस्ता अवस्थाको समाधानबारे सरकारले स्पष्ट दिशानिर्देश दिनुपर्ने आवश्यकता रहेको उनले बताइन्।

सरकारले यो प्रतिबन्धले अभिभावकको विश्वास बढाउने र बालबालिकाका लागि अझ सुरक्षित सिकाइ वातावरण निर्माण गर्ने विश्वास लिएको छ। सार्वजनिक शिक्षामा सुरक्षालाई उच्च प्राथमिकता दिँदै, साउथ अष्ट्रेलियाले सम्पूर्ण देशका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

spot_img