५ दिनदेखि हराएका दाजुबहिनी मृत फेला

Advertisement

पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका १ विरुवाबाट पाँच दिनअघि हराएका दाजु–बहिनी मृत अवस्थामा फेला परेका छन् । बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ४ वर्षीया छोरी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुवैको शव छुट्टाछुट्टै स्थानमा भेटिएको छ । दाजुको शव खोलाको माथिल्लो किनारमा र बहिनीको शव केही तल फेला परेको हो । प्रहरीका अनुसार साउन १५ गते शुक्रबार विद्यालय जान घरबाट निस्केका उनीहरू त्यस दिनदेखि सम्पर्कविहीन थिए ।

हजुर बुबाकोमा खाना खाएर स्कुल जान हिँडेका उनीहरू विद्यालयमा भने पुगेका थिएनन् । शिशिर र नानुमा कहिले बुबासँग, कहिले हजुरबुबा–हजुरआमासँग बस्दै आएका थिए । उनका बुबा बिर्खबहादुर गाउँमै खेतीपाती गर्छन् भने आमा वैदेशिक रोजगारीमा छन् ।

घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । घटनास्थलको मुचुल्का उठाउने कार्य भइरहेको र शवलाई परीक्षणका लागि पठाउने तयारी भएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र विस्तृत विवरण अनुसन्धानपछि मात्र आउने प्रहरीको भनाइ छ ।

spot_img