
१८ साउन, काठमाडौं । सामान्यतया प्रचलित ‘ए’, ‘बी’, ‘ओ’ जस्ता रक्त समूहबाहेक भारतमा हालै एक नयाँ दुर्लभ रक्त समूह पत्ता लागेको छ, जसलाई ‘सीआरआईबी’ (CRIB) नाम दिइएको छ।
बेंगलुरुमा बस्ने ३८ वर्षीया एक महिलाको मुटुको शल्यक्रियाको क्रममा यो रक्त समूह पत्ता लागेको हो। शल्यक्रिया अघि उनको रक्त समूह कुनै पनि प्रचलित समूहसँग मेल नमिल्दा चिकित्सकहरूले रगत सुरक्षित नगरीकनै शल्यक्रिया सम्पन्न गरेका थिए।

रोटरी–टीटीके ब्लड सेन्टरका डा. अंकित माथुरका अनुसार, बिरामीको रगत अन्य कुनै समूहसँग नमिलेपछि नमुना बेलायतस्थित International Blood Group Reference Laboratory (IBGRL) पठाइएको थियो। करिब १० महिनापछि गरिएको विश्लेषणले उनको रगतमा नयाँ एन्टिजेन रहेको पुष्टि भयो। यसपछि अन्तर्राष्ट्रिय संस्था International Society of Blood Transfusion (ISBT) ले यसलाई मान्यता दिँदै ‘CRIB’ नाम प्रदान गरेको हो।
विशेषज्ञहरूका अनुसार, ‘CRIB’ मा ‘C’ ले Cromer रक्त समूह प्रणाली, ‘I’ ले India र ‘B’ ले Bengaluru जनाउँछ। यो प्रणालीमा अहिलेसम्म २० वटा एन्टिजेन पहिचान भइसकेकोमा ‘CRIB’ २१औं एन्टिजेन बनेको हो।
चिकित्सकहरूले बताएको अनुसार, यस्तो दुर्लभ रक्त समूह भएका बिरामीले सामान्य रगत चढाउन सक्दैनन्। आपतकालीन अवस्थामा आफ्नै रगत संकलन गरेर राख्ने (Autologous Blood Transfusion) वा परिवारभित्र समान समूह खोज्ने विकल्प मात्र हुन्छ।
यसअघि पनि भारतमा ‘Bombay Blood Group’ र ‘Indian Blood Group System’ पत्ता लागेको थियो। विशेषज्ञहरूको भनाइमा, CRIB समेत यस्ता दुर्लभ समूहहरू मध्ये पर्छ।
हाल मुम्बईस्थित ICMR–NIIH ले यस्ता दुर्लभ रक्त समूह भएका व्यक्तिहरूको विवरण समेट्ने Rare Blood Donor Registry विकास गरिरहेको छ, जसले आपतकालीन अवस्थाहरूमा सहजीकरण गर्ने उद्देश्य लिएको छ।
