गाजामा भोकमरी नकार्ने दाबीपछि अष्ट्रेलियाको कडा कदम, इस्रायली राजदूतलाई स्पष्टीकरणका लागि बोलाइयो

spot_img

अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभाग (DFAT) ले गाजाको मानविय संकटबारे विवादास्पद अभिव्यक्ति दिएका इस्रायलका राजदूत अमिर मैमन र उप–राजदूत अमिर मेरोनलाई स्पष्टीकरणका लागि बोलाएको छ। केही दिनअघि उनीहरूले “गाजामा भोकमरी छैन” भन्ने दाबी गरेका थिए, जसलाई अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले “बुझ्नै नसकिने” भन्दै कडा प्रतिक्रिया जनाएका थिए।

मंगलवार क्यानबेरामा भएको बैठकमा वरिष्ठ अधिकारीहरूले अष्ट्रेलियाको आधिकारिक धारणा स्पष्ट गर्दै गाजामा मानवीय सहायता आपूर्ति अवरुद्ध भएकामा गहिरो चिन्ता व्यक्त गरे। यो धारणा प्रधानमन्त्री अल्बानीज र परराष्ट्र मन्त्री पेनी वोंगले अघिल्ला वक्तव्यमार्फत सार्वजनिक गरिसकेका विचारसँग मेल खान्छ।

यसअघि उप-राजदूत अमिर मेरोनले अष्ट्रेलियाली पत्रकारहरूसँगको छलफलमा “इस्रायलले भोकमरीको नीति कहिल्यै अपनाएको छैन” भन्दै दाबी गरेका थिए। तर संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूले गाजामा कुपोषणका कारण बालबालिकासहित मानिसहरूको मृत्यु भइरहेको तथ्य प्रस्तुत गरेका छन्।

spot_img

संसदको प्रस्ताव

यसैबीच, अष्ट्रेलियाली संसदको उच्च सदन (सेनेट) ले बुधबार साँझ “इस्रायलको सहायता नाकाबन्दी” लाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भन्दै आलोचना गर्ने प्रस्ताव पारित गरेको छ। ग्रीन पार्टीका संसद निक म्याककिमद्वारा प्रस्तुत प्रस्ताव श्रमिक दलको संशोधनपछि पारित भएको हो। संशोधनमार्फत “अतिरिक्त आर्थिक प्रतिबन्ध” हटाइए पनि सरकारलाई इस्रायलमाथि कूटनीतिक दबाब बढाउन आह्वान गरिएको छ।

अल्बानीजको प्रतिक्रिया

दलको बैठकमा प्रधानमन्त्री अल्बानीजले भने, “गाजामा भोकमरी छैन भन्ने दाबी बुझ्नै नसकिने कुरा हो। पत्रकारलाई प्रवेश नदिएर तथ्य लुकाउन खोजिएको छ, तर विश्वले वास्तविकता देखिरहेको छ।” उनले दुई राष्ट्र समाधानमा समर्थन जनाउँदै नेल्सन मण्डेलाको भनाइ उद्धृत गरे – “यो असम्भवजस्तो लाग्छ, जबसम्म यो पूरा हुँदैन।”

बढ्दो अन्तर्राष्ट्रिय दबाब

संयुक्त राष्ट्रका स्वास्थ्य निकायहरूले गाजा अकालतर्फ धकेलिँदै गएको चेतावनी दिँदै आएका छन्। बालबालिकाको भोकमरीका तस्वीरहरूले विश्व समुदायलाई झकझक्याइरहेका छन्। इस्रायलले आंशिक रूपमा सैन्य कारबाही रोक्ने र नयाँ सहायता मार्ग खोल्ने घोषणा गरे पनि सहायता संस्थाहरूले यसलाई पर्याप्त नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत इस्रायली दाबी अस्वीकार गर्दै भने, “ती बालबालिकाको अवस्था साँच्चै भोकमरीको हो। सबैभन्दा पहिले मानवीय आधारमा मद्दत पुर्याउनुपर्छ।”

युद्धको पृष्ठभूमि

गाजा युद्ध २०२३ को अक्टोबर ७ मा सुरु भएको हो, जब हमासले दक्षिण इस्रायलका बस्तीहरूमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५१ जनालाई अपहरण गरेको थियो। त्यसको जवाफमा सुरु भएको इस्रायली आक्रमणमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६०,००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

गाजाको बढ्दो मानविय संकटबीच अष्ट्रेलियाको कूटनीतिक कदम र संसदको प्रस्तावले इस्रायलमाथि अन्तर्राष्ट्रिय दबाब थप तीव्र बनाएको विश्लेषण गरिएको छ।

spot_img