भेप प्रतिबन्धपछि युवाबीच धूमपान घटेको सरकारको दाबी

spot_img

क्यानबेरा — अष्ट्रेलियाली फेडेरल सरकारले हालसालै सार्वजनिक भएको एउटा विवादित अनुसन्धानलाई अस्वीकार गर्दै भेप (e-cigarette) प्रतिबन्धले उल्टै युवाबीच धूमपान बढाएको भन्ने दाबी गलत भएको स्पष्ट पारेको छ।

गत जुलाई २०२४ मा चरणबद्ध रूपमा लागू गरिएको भेप बिक्री प्रतिबन्धलाई लिएर Roy Morgan ले गत महिना प्रकाशित गरेको सर्वेक्षणमा धूमपान र भेपिङको दर घट्ने सट्टा बढेको देखाइएको थियो। रिपोर्टअनुसार, प्रतिबन्धपछि अष्ट्रेलियामा धूमपान र भेपिङ दुवै अघिल्लो वर्षको तुलनामा बढी रहेको उल्लेख थियो।

तर, स्वास्थ्य मन्त्री मार्क बटलरले आज पत्रकारहरूसँग कुरा गर्दै यो निष्कर्षलाई अस्वीकार गरे। उनले सरकार–प्रेरित अनुसन्धानबाट प्राप्त तथ्यांकले “युवा बीच धूमपान र भेपिङ दुवैमा कमी आएको” स्पष्ट देखाएको बताए।
उनले भने, “सुरुवातमा मलाई पनि शंका थियो कि कतै भेप प्रतिबन्धले युवाहरूलाई चुरोटतर्फ मोडिदिन्छ कि भनेर। तर Gen Vape र South Australian Health and Medical Research Institute को तथ्यांकले त्यसलाई पुष्टि गरेको छैन।”

बटलरले Roy Morgan को अध्ययनबारे प्रश्न उठाउँदै यसमा प्रयोग गरिएको डेटा भेप प्रतिबन्ध लागू हुनुअघि नै संकलन गरिएको र लक्षित उमेर समूह पनि फरक भएको बताए। उनले यसलाई Cancer Council सँगको सहकार्यमा गरिएको सरकारी Generation Vape परियोजनासँग मेल नखाने पनि स्पष्ट पारे।

यता, Roy Morgan ले भने आफ्नो अनुसन्धानलाई पुनः अनलाइन राख्दै अद्यावधिक संस्करणमा गैर–कानुनी चुरोट (illicit tobacco) सम्बन्धी तथ्यांक पनि समावेश गरिएको जनाएको छ। संस्थाले प्रारम्भिक संस्करण सार्वजनिक गर्दा पारदर्शिता नअपनाएको भन्ने आलोचनापछि संशोधित प्रतिवेदन प्रकाशित गरेको हो।

यसैबीच, फेडेरल सरकारले OurFutures Vaping Prevention Education Program को परिणाम प्रस्तुत गर्दै प्रतिबन्ध र सचेतनामूलक कार्यक्रमहरू प्रभावकारी भएको दाबी गरेको छ। ४० विद्यालयका ५,००० भन्दा बढी विद्यार्थी सहभागी यस कार्यक्रममा अध्ययनपछि १२ महिनाभित्र सहभागी विद्यार्थीहरूले भेप प्रयोग गर्ने सम्भावना ६५ प्रतिशतले घटेको Lancet पत्रिकामा प्रकाशित अनुसन्धानमा देखाइएको छ।

स्वास्थ्य मन्त्री बटलरले थपे, “अध्ययनले देखाएको छ कि १२ वर्षका विद्यार्थीहरूले यदि भेप सुरु गरे भने उनीहरू धूमपान सुरु गर्ने सम्भावना २९ गुणा बढी हुन्छ। यो वास्तवमै डर लाग्दो तथ्य हो।”

विद्यार्थीहरूले पनि कार्यक्रमपछि भेपको शारीरिक र मानसिक असरबारे थप जानकारी पाएको र भविष्यमा त्यसलाई अस्वीकार गर्ने क्षमतामा आत्मविश्वास बढेको बताएका छन्।

OurFutures कार्यक्रमलाई सन् २०२८ सम्म अष्ट्रेलियाभर विस्तार गर्ने लक्ष्य सरकारले राखेको छ। यससँगै, सरकारले धूमपान नियन्त्रण र युवा स्वास्थ्य सुरक्षामा प्रतिबद्धता दोहोर्याएको छ।

Advertisement