गोसाइँकुण्ड स्नानका क्रममा डुबेका दुई युवाको शव फेला

spot_img

प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवाको शव भेटिएको छ। रसुवास्थित गोसाइँकुण्डमा आइतबार स्नान गर्दै गर्दा डुबेका मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर–३ ढाटका २६ वर्षीय सुजन ढकालको शव सोमबार बिहान फेला परेको हो।

घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली परिचालन गरी खोजी कार्य तीव्र पारिएको थियो। स्थानीयबासी र नेपाली सेनाको सहयोगमा शवहरू कुण्डबाट निकालिएको रसुवाका डिएसपी हेम शाहीले जानकारी दिए।

दुवै युवक गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा स्नान गर्न गएका थिए। तर, आइतबार दिउँसो कुण्डमा डुबेर बेपत्ता भएका उनीहरूको अवस्था अज्ञात रहेको थियो। स्थानीय तथा सुरक्षा निकायको २४ घण्टा लामो खोजीपछि सोमबार बिहान शव फेला पारिएको हो।

शवहरूलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उता, दुवै मृतकका आफन्तहरू सिम्रिक एयरको हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याउने तयारीमा रहेको समेत बताइएको छ।

धार्मिक आस्थासँग जोडिएको गोसाइँकुण्डमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन आवश्यक सुरक्षात्मक पूर्वतयारी र चेतनामूलक उपायहरू अपनाउन स्थानीय तथा सरकारी निकायहरूप्रति आम नागरिकले ध्यानाकर्षण गराएका छन्।

spot_img