

नेपालका चर्चित अभियन्ता ज्ञानेन्द्र शाही र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई यस वर्षको “ग्लोबल हिरो अवार्ड” प्रदान गरिने भएको छ।
ग्लोबल नेपालीद्वारा आयोजित यो अन्तर्राष्ट्रिय सम्मान कार्यक्रम आगामी जुलाई २७ तारिखमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा एक विशेष समारोहबीच आयोजना गरिने आयोजकले जनाएका छन्।
उक्त पुरस्कार प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने विशिष्ट नेपाली व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ।
कुलमान घिसिङलाई नेपालमा विद्युत आपूर्तिको व्यवस्थापनमा ल्याएको ऐतिहासिक सुधार र ऊर्जा क्षेत्रको सुधारमा पुर्याएको योगदानको आधारमा छनोट गरिएको हो। ‘लोडसेडिङ अन्त्य गर्ने नेतृत्वकर्ताका रूपमा उहाँको भूमिका नेपाली इतिहासमा स्मरणीय रहनेछ,’ आयोजक संस्थाको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, सामाजिक अभियान, भ्रष्टाचारविरुद्धको जनचेतना, पारदर्शिता र सुशासनको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएका अभियन्ता ज्ञानेन्द्र शाहीलाई समाज परिवर्तनको प्रेरणाको रूपमा यो अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरू, प्रतिष्ठित व्यक्तित्वहरू, बुद्धिजीवी, र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूको पनि उपस्थिति रहने जनाइएको छ।
ग्लोबल नेपालीद्वारा सञ्चालित “ग्लोबल हिरो अवार्ड” को उद्देश्य भनेको अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचानलाई प्रवर्द्धन गर्नुका साथै प्रेरणादायी काम गर्ने व्यक्तिहरूलाई सम्मानित गर्नु हो।
अवार्ड समारोहको विस्तृत कार्यक्रम र अतिथिहरूको विवरण केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।
