डार्विनमा राहदानी नवीकरण सत्रको तयारी — सञ्जीव गोर्खाली र राजदूत चित्रालेखा यादवबीच भेटवार्ता सम्पन्न

spot_img

क्यानबेरा, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका अध्यक्ष पदका उम्मेदवार सञ्जीव गोर्खालीले हालै सम्पन्न क्यानबेरा भ्रमणका क्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम चित्रालेखा यादवसँग औपचारिक भेटवार्ता गरेका छन्।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त भेटमा राहदानी नवीकरण सेवासम्बन्धी पहुँच, प्रभावकारिता र सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो। अन्तरराज्यीय रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै राहदानी सेवा थप सुलभ, दिगो र समावेशी बनाउन सकिने उपायबारे गहन संवाद भएको जानकारी गराइएको छ।

उक्त छलफलपछि प्राप्त सकारात्मक सहमतिको आधारमा सन् २०२६ को जनवरी वा फेब्रुअरी महिनामा डार्विन शहरमा राहदानी नवीकरण सेवा सत्र आयोजना हुने सुनिश्चित भएको छ। कार्यक्रमको मिति र अन्य विवरण दूतावास तथा सम्बन्धित निकायहरूले चाँडै सार्वजनिक गर्नेछन्।

spot_img

यसका साथै, गोर्खालीले राजदूतावाससँग समन्वयमा “घुम्ती राहदानी शिविर” कार्यक्रमलाई वार्षिक रूपमा सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेका छन्। उक्त पहलले अष्ट्रेलियाका विभिन्न राज्य र सहरहरूमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो राहदानी नविकरण तथा अन्य कन्सुलर सेवामा सहज पहुँच दिन मद्दत गर्ने अपेक्षा गरिएको छ।

राजदूत यादवले यस भेटलाई फलदायी भन्दै नेपाली समुदायको हितमा केन्द्रित योजनालाई स्वागत गर्नु भएको थियो। उहाँले दूतावासले यस्ता कार्यक्रमहरूलाई दिगो रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाउनुभएको छ।

भेटपछि प्रतिक्रिया दिँदै सञ्जीव गोर्खालीले भन्नुभयो, “सधैंझैं म समुदायको पक्षमा उभिएको छु। नागरिक सेवामा सहज पहुँच र सकारात्मक परिवर्तनका लागि हाम्रो साझा अभियान निरन्तर अघि बढ्नेछ।”

उक्त पहल अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई लक्षित गरी राहदानी सेवा जस्तो संवेदनशील विषयमा सुलभता ल्याउने महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ। यसले हजारौं नेपाली नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने विश्वास गरिएको छ।

spot_img