अस्ट्रेलियामा वाणिज्य दूतको रूपमा दुई राज्यको लागि सञ्जीव शर्मा र निराजन गौली नियुक्त

सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपालको अस्ट्रेलियामा दुई राज्यमा वाणिज्यदूत नियुक्त गरेको छ। यस निर्णयअनुसार, न्यूसाउथवेल्स राज्यका लागि सञ्जिव शर्मा र भिक्टोरिया राज्यका लागि निराजन गौलीलाई वाणिज्यदूत बनाइएको हो।

आफ्नो चार वर्षे कार्यकाल सकिनुअघि नै न्यूसाउथवेल्स राज्यका महावाणिज्यदूत दिपक खड्काले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए भने भिक्टोरियामा कार्यकाल सकिएपछि पूर्वमहावाणिज्यदूत चन्द्र योन्जन कार्यवाहक तोकिएका थिए

सञ्जिव शर्मा नेपालको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका संस्थापक हुन्।विश्वका विभिन्न देशमा आफ्नो शाखा कार्यालय रहेको एक्सपर्टले नेपालमा पनि १० भन्दा बढी कार्यालयहरू रहेको जनाएका छन्। एक्सपर्ट ग्रुपले नेपालको हाइड्रोपावर क्षेत्रमा पनि लगानी गरेको छ।

त्यसैगरी विक्टोरियाका लागि वाणिज्य दूतमा नियुक्ति भएका निराजन गौली इन्जिनियर हुन्। केही समयअघि अस्ट्रेलियाको काउन्सिलहरूमा काम गरिरहेका निराजन गौलीले वाणिज्य दूतमा नियुक्तिका लागि उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए। गौलीको अगुवाइमा अस्ट्रेलिया नेपाल पब्लिक इंक नामक संस्थाले विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। यसका साथै उनले सन् २०२१ मा एनआरएन अस्ट्रेलियाको कम्युनिटी लिडर अवार्ड समेत प्राप्त गरेका थिए।