मोरङको सुन्दरहरैंचामा ‘ढुकुर जोडी’ सम्मान : १२ उदाहरणीय दाम्पत्य जोडीलाई १०–१० हजार रुपैयाँसहित सम्मान

Advertisement

सुन्दरहरैंचा (मोरङ), असार २९ —
मोरङको सुन्दरहरैंचा नगरपालिकाले झगडा नगरी सुमधुर रूपमा मिलेर जीवन बिताइरहेका उदाहरणीय १२ दाम्पत्य जोडीलाई ‘ढुकुर जोडी’ को उपाधिसहित सम्मान गरेको छ। समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले नगरपालिकाले यस्तो अभिनव पहल सुरु गरेको हो।

नगरपालिकाले झगडारहित सहजीवन बिताइरहेका जोडीको पहिचान, प्रेरणा र सम्मान गर्न दुई महिनाअघि आवेदन आह्वान गरेको थियो। सोही आधारमा नगरका १२ वटै वडाबाट १२ जोडीलाई छानिएको हो।

झगडारहित सहजीवनका प्रतिक ‘ढुकुर जोडी’

आइतबार (असार २९) आयोजित एक विशेष समारोहमा नगरपालिकाले प्रत्येक चयनित जोडीलाई रु. १०,००० नगद, सम्मानपत्र र प्रसंशापत्र प्रदान गरेको हो। नगर प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने का अनुसार “यी जोडीहरू हाम्रो समाजका वास्तविक उदाहरण हुन्। यिनले पारिवारिक सहिष्णुता, माया, र समझदारीको प्रेरणा दिएका छन्।”

आवेदनबाट छनोट : स्पष्ट मापदण्ड

‘ढुकुर जोडी’का लागि नगरपालिका कार्यालयले निम्न मापदण्ड तोकेको थियो:

  • कम्तीमा १० वर्षदेखि वैवाहिक जीवनमा रहेका हुनुुपर्ने,
  • सो अवधिमा कुनै पनि झगडा नदेखिएको/उजुरी नपरेको हुनु पर्ने,
  • संयुक्त परिवारमा निरन्तर बसोबास गर्दै आएकाले बुबाआमा, सासू-ससुरा लगायत सबैलाई राम्रोसँग हेरचाह गरेको हुनु पर्ने,
  • दुवैजना हाल नेपालमै बसोबास गरिरहेको हुनु पर्ने।

नगरपालिकाका अनुसार करिब ४८ वटा जोडीले आवेदन दिएका थिए। तीमध्ये कडाइका साथ गरिएको मूल्यांकनबाट १२ जोडीलाई अन्तिम छनोट गरिएको हो।

समाजमा सन्देशमूलक उदाहरण

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, “अहिलेको समयमा वैवाहिक सम्बन्धमा बढ्दो विवाद र असहिष्णुतालाई ध्यानमा राख्दै, समाजमा शान्तिपूर्ण सहजीवनको सन्देश फैलाउन यस्ता उदाहरणीय जोडीलाई सम्मान गर्नु जरूरी थियो। यसले अन्य परिवारहरूलाई पनि मेलमिलाप र सहमतिमा बस्न प्रेरणा दिनेछ।”

समुदाय–केन्द्रित अभ्यासको नयाँ प्रयास

नगरपालिकाले आगामी वर्षहरूमा पनि यस सम्मानलाई निरन्तरता दिने योजना बनाएको छ। साथै, यस्ता दाम्पत्य सम्बन्धमा आधारित कार्यक्रमहरूलाई परामर्श, जनचेतना र सामुदायिक विकासका अभियानसँग जोड्ने तयारी भइरहेको छ।

यस कार्यक्रमले पारिवारिक मूल्य, सामाजिक सद्भाव, र सहजीवनको संरक्षणमा योगदान पुर्‍याउने विश्वास नगरपालिकाले लिएको छ।

spot_img