
मेलबर्न, अष्ट्रेलिया — अष्ट्रेलियन फुटबल लिग (AFL) का २३ वर्षीय खेलाडी जमारा उग्ले-हागनलाई मेलबर्नमा भएको एक ड्राइभ-बाई गोली प्रहार घटनाबारे प्रहरीले सोधपुछ गरेको छ। तर प्रारम्भिक अनुसन्धानबाट उनी घटनामा प्रत्यक्ष संलग्न नरहेको पुष्टि भएको छ।
घटना गत जुन ११ मा भएको हो, जब ७१ वर्षीय डग्लस ली आफ्नो ग्लेन आइरिसस्थित घर फर्कने क्रममा उनी सवार गाडीमा तीन राउन्ड गोली प्रहार गरिएको थियो। उनले ९न्यूजसँगको अन्तर्वार्तामा भने, “मैले पहिलो गोलीको आवाज सुनेँ, अनि एक गाडी तीव्र गतिमा मेरोतर्फ आउँदै थियो। ठोक्किन्छ कि भन्ने डर भयो, तर गाडीले पास गर्दै फेरि दुई गोली चलायो।”
सौभाग्यवश, डग्लस ली घाइते भएनन्। घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले उक्त गाडी AFL खेलाडी उग्ले-हागनको हुनसक्ने आशंकामा उनलाई सोधपुछ गरेको हो। तर अनुसन्धानको क्रममा प्रहरीले पत्ता लगाएको छ कि सो समयमा गाडी उग्ले-हागनकै नियन्त्रणमा थिएन।
उग्ले-हागनले घटनाको केही दिन अघि मात्र सार्वजनिक रुपमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको बताएका थिए। एक पोडकास्ट अन्तर्वार्तामा उनले भनेका थिए, “त्यति बेला म यस्तो मानसिक अवस्थामा पुगेको थिएँ कि आफैं गाडी नचलाउन साथीलाई गाडी सुम्पेको थिएँ। मलाई आफ्नै सुरक्षामा भरोसा थिएन।”
प्रहरीका अनुसार प्रारम्भिक सूचनाहरूले यो घटना ‘गलत पहिचान’ का कारण भएको हुनसक्ने देखाएको छ। यद्यपि, घटनामा संलग्न वास्तविक व्यक्तिको खोजी भइरहेको छ।
प्रहरी अनुसन्धान अझै जारी रहेको र अपराधीसम्म पुग्न सबै सम्भावित प्रमाण संकलन गरिरहेको बताइएको छ। सार्वजनिक सुरक्षाको दृष्टिकोणले मेलबर्न जस्ता शहरी क्षेत्रमा यस्ता घटनाप्रति गम्भीरता राखिएको र यथाशिघ्र निष्कर्षमा पुग्न प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्।
यस घटनाले अष्ट्रेलियामा मानसिक स्वास्थ्य, खेलाडीहरूको जीवनमा पर्ने दवाव, र सार्वजनिक सुरक्षाप्रति बढ्दो चिन्तालाई पुनः उजागर गराएको छ।





