
काठमाडौं, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरी सन्तान जन्माउने विषयमा युवालाई सकारात्मक ढंगले प्रेरित गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रजनन क्षमताको उपयुक्त समयमा सन्तान जन्माउनु मानव अस्तित्वको दृष्टिले पनि महत्त्वपूर्ण हुने बताए।
“मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराएँ,” भन्दै प्रधानमन्त्री ओलीले आफू जति व्यस्त हुनु नपर्ने र समयमै पारिवारिक योजना बनाउनु उपयुक्त हुने धारणा राखे।
उनले सरकारद्वारा २० वर्षपछि मात्रै विवाह गर्न कानुनी प्रबन्ध गरिएको स्मरण गराउँदै, ३० वर्ष पुग्नुअघि सन्तान पाइसकेर ४० वर्षपछि रमाउन सकिने कुरा गम्भीर रूपमा लिन आग्रह गरे। साथै, “जनसंख्या वृद्धि मात्र होइन, सन्तुलित र उत्तरदायी जनसंख्या विकासमा जोड दिनुपर्ने” उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले जनसंख्याको असन्तुलन र मानव अस्तित्वमाथि देखिएका वैश्विक चुनौतीहरूको प्रसंग उठाउँदै, शक्तिशाली राष्ट्रहरूलाई जनसंख्याको बहानामा आम विनाशका हतियार निर्माण बन्द गर्न पनि आह्वान गरे।
“मानव जातिको अस्तित्व र सन्तुलित विकासका लागि उपयुक्त नीति र चेतना आवश्यक छ,” उनले भने।
नयाँ राष्ट्रिय जनसंख्या नीतिको कार्यान्वयनमा सबैलाई जिम्मेवार र जागरुक भएर लाग्न आग्रह गर्दै उनले विकास र जनसंख्या वृद्धि सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए।





