क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीद्वारा अनुसन्धान जारी

Advertisement

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको सरे सहरस्थित भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली प्रहार भएको घटनापछि प्रहरी अनुसन्धानमा जुटेको छ।

सीबीसी न्यूजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ कि सरेको न्यूटन क्षेत्रको १२० स्ट्रिटमा रहेको ‘क्याप्स क्याफे’मा बिहीबार बिहान गोली प्रहार भएको हो। घटनाको समयमा क्याफेभित्र केही कर्मचारीहरू उपस्थित थिए। यद्यपि, यस घटनामा कुनै पनि व्यक्ति घाइते नभएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार गोली लागेपछि क्याफेका झ्यालहरूमा क्षति पुगेको छ भने घटनास्थलमा भौतिक क्षतिको पनि अवलोकन गरिएको छ।
घटनापछि सरे प्रहरीले सम्भावित उद्देश्य र अन्य संगठित आपराधिक घटनासँगको सम्बन्धको पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

क्याप्स क्याफे कलाकार कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले संयुक्त रूपमा सञ्चालनमा ल्याएको व्यवसाय हो। क्याफेले एक साताअघि मात्रै आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको थियो।

घटनालगत्तै क्याफे टिमले सामाजिक सञ्जालमार्फत एक आधिकारिक वक्तव्य जारी गर्दै उक्त हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेको छ। वक्तव्यमा भनिएको छ, “क्याप्स क्याफे खोल्ने हाम्रो उद्देश्य स्वादिलो कफी र आत्मीय संवादमार्फत समुदायसँग न्यानोपन बाँड्नु थियो। त्यो सपनामै हिंसा मिसिनु हाम्रो लागि दुःखद र असह्य हो। तर हामी हार मान्ने छैनौं।”

क्याफे टिमले कठिन परिस्थितिमा साथ दिएकामा ग्राहक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भनिएको छ, “तपाईंहरूको स्नेह, प्रार्थना र सन्देशहरूले हामीलाई अकल्पनीय साथ दिएको छ। क्याप्स क्याफे तपाईंहरूको विश्वासकै कारण अस्तित्वमा आएको हो।”

वक्तव्यको अन्त्यमा समुदायलाई हिंसाको विरुद्धमा एकजुट हुन आग्रह गर्दै यस्तो अपिल गरिएको छ:
“हिंसाको विरुद्ध दृढ भएर उभिऔं र क्याप्स क्याफेलाई समुदायको न्यानोपन बाँड्ने थलो बनाइराख्न सँगै लागौं।”

प्रहरीले घटनाबारे थप विवरण आउँन बाँकी रहेको जनाएको छ।

spot_img