अष्ट्रेलियाली परराष्ट्र मन्त्री पेनी वङद्वारा चीनको सैन्य विस्तारप्रति चिन्ता

spot_img

अष्ट्रेलियाकी परराष्ट्र मन्त्री पेनी वङले चीनको तीव्र सैन्य विस्तारप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। साथै, उनले दक्षिण चीन सागरमा चिनियाँ जलयानहरूले प्रदर्शन गर्दै आएको “अस्थिर र खतरनाक गतिविधि” विरुद्ध अष्ट्रेलियाले कडा प्रतिवाद जारी राख्ने स्पष्ट संकेत दिएकी छिन्।

उनको यो कूटनीतिक सन्देश प्रधानमन्त्री एन्टोनी एल्बानेजीको बेइजिङ भ्रमणको केही दिनअघि आएको हो।

मलेसियाको क्वालालम्पुरस्थित ‘इन्स्टिच्युट फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडीज’ मा बोल्दै वङले इन्डो–प्यासिफिक क्षेत्रमा देखा परिरहेका चुनौतीहरू “अपेक्षाभन्दा गहिरा र जटिल” भएको उल्लेख गरिन्। तर, उनले यो क्षेत्रलाई “संसारकै सबैभन्दा गतिशील क्षेत्र” मान्दै यसमा अवसरहरू पनि प्रशस्त रहेको धारणा व्यक्त गरिन्।

उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियो सँगको छलफल उल्लेख गर्दै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व अत्यावश्यक रहेकोमा दुवै देश सहमत भएको बताइन्।

“खुला र शान्तिपूर्ण क्षेत्र निर्माण गर्नका लागि असाधारण राष्ट्रिय प्रयास र शक्ति प्रयोग आवश्यक पर्छ,” उनले भनिन्।

spot_img

वङले चीनलाई महाशक्ति राष्ट्रको रूपमा चिनाउँदै यसले आफ्नो सुरक्षा र आर्थिक स्थायित्वका लागि सकारात्मक भूमिका खेल्न सक्छ बताइन्। साथै, जलवायु परिवर्तन, सार्वजनिक स्वास्थ्य संकट र अन्तर्राष्ट्रिय व्यापार जस्ता विश्वव्यापी चुनौतीहरू समाधानमा चीनको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन्।

तर उनले चीनको परमाणु र पारम्परिक सैन्य विस्तारको चिन्ताजनक गति, तथा इन्डो–प्यासिफिक क्षेत्रमा देखिएको आक्रामक रणनीति प्रति गम्भीर चिन्ता व्यक्त गरिन्।

उनका अनुसार, अष्ट्रेलिया चीनको प्रभावलाई यथार्थवादी दृष्टिकोणले हेर्छ, तर “कुनै एक राष्ट्रले क्षेत्रलाई नियन्त्रण गरोस् वा अरूले दबाब महसुस गरोस् भन्ने अवस्था नहोस्” भन्ने सन्तुलन कायम राख्न चाहन्छ।

प्रधानमन्त्री एल्बानेजीको आगामी छ-दिने चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँगको यो चौथो प्रत्यक्ष भेट हुनेछ। भ्रमणलाई अष्ट्रेलिया–चीन सम्बन्ध सुधारतर्फको प्रयासका रूपमा हेरिएको छ।

यता, अष्ट्रेलिया–अमेरिका सम्बन्ध पछिल्लो समय ट्रम्प प्रशासनको ट्यारिफ नीति, AUKUS सम्झौतामाथिको समीक्षा, र अष्ट्रेलियामाथि रक्षा खर्च वृद्धि सम्बन्धी अमेरिकी दबाबका कारण केही तनावपूर्ण बनेको देखिएको छ।

यद्यपि, एल्बानेजी र ट्रम्पबीच टेलिफोन संवाद हुँदै आएको र ट्रम्पले एल्बानेजीको नेतृत्वको प्रशंसा गरेको विषय पनि सार्वजनिक भइसकेको छ।

Advertisement