
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको स्पेन भ्रमणका क्रममा सहभागी केही नेपालीहरू स्वदेश नफर्किएको विषयमा संसदको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले भ्रमण दलमा सहभागी भएका केही नेपालीहरू ‘भिजिट भिसा’को नाममा वैदेशिक भूमिमा हराएको भन्ने समाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरिन्।
उनले भनिन्, “सरकारले यस्तो संवेदनशील विषयमा गम्भीरता देखाएको छैन। भिजिट भिसाको नाममा नेपाली बेच्ने गिरोह सक्रिय छ भन्ने यथार्थ हिजोआज खुलेरै देखिँदैछ। तर, सरकार समितिको नाममा टालटुले काम गरेर जिम्मेवारीबाट पन्छिन खोज्दैछ।”
सांसद गौतमले प्रधानमन्त्रीकै भ्रमण टोलीमा सहभागी भएर विदेश गएको व्यक्तिको बेपत्ता हुनु गम्भीर विषय भएको उल्लेख गर्दै यस्ता गतिविधिको मूल जडसम्म पुग्न विशेष छानबिन आवश्यक भएको बताइन्।
“के प्रधानमन्त्रीको भ्रमणमा दलमा संलग्न हुने व्यक्तिको पृष्ठभूमि जाँच गर्ने कुनै संयन्त्र सरकारसँग छैन?” गौतमले प्रश्न गर्दै भनिन्, “हामी कुनै टालटुले समितिबाट सन्तुष्ट छैनौं, जबसम्म यथार्थ उजागर गर्ने गरी स्वतन्त्र उच्चस्तरीय छानबिन समिति गठन हुँदैन, तबसम्म हाम्रो पार्टीले संसदको बैठक बहिष्कार जारी राख्नेछ।”
उनले यस्तो घटनाले मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पार्ने भन्दै जिम्मेवार निकायलाई आवश्यक कदम चाल्न चेतावनी दिइन्।
गौतमको भनाइपछि प्रतिनिधिसभामा अन्य सांसदहरूले पनि यस विषयमा चासो व्यक्त गरेका थिए।
यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय भ्रमणहरूमा सहभागी केही नेपालीहरू स्वदेश नफर्किएको, वैदेशिक भूमिमा हराएको वा शरणार्थीको रूपमा बसेको विषयहरू उठ्दै आएका थिए। तर, ती घटनामा प्रभावकारी छानबिन र कारबाहीको अभाव रहेको भन्दै आलोचना हुँदै आएको छ।
सांसद गौतमको ताजा ध्यानाकर्षणले यस विषयलाई थप गम्भीरतापूर्वक लिने आवश्यकतामा सरकारलाई दबाब सिर्जना गरेको छ
